भोजपुर- प्रदेश नम्बर- १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर-सङ्खुवासभा जोड्ने अरुण नदीको लम्सुवा खण्डमा १२ बर्षमापनि पुल निर्माण अधुरै रहेपछि झोलुङ्गे पुल निर्माणका लागि निर्देशन दिएकाछन् । मुख्यमन्त्री राईले बुधवार स्थलगत अनुगमनको क्रममा तत्काल पक्की पुल निर्माण सम्भव नदेखिएपछि स्थानियलाई अरुण नदि तर्न सहजताकोलागि तत्काल झोलुङ्गे पुल निर्माण प्रक्रिया अगाडि वढाउन सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएकाहुन् ।
पुलको अनुगमन गर्दै मुख्यमन्त्री राईले प्रगतिको अवस्थाका बारेमा समेत जानकारी लिँदै निर्माण कम्पनीको ठेक्का सम्झौतासमेत रद्द गर्ने बताएका छन् । २०७६ मा शिलान्यास भई स्वच्छन्द निर्माण कम्पनीले निर्माण सुरु गरेको पुलको निर्माण कार्य विभिन्न कारण देखाउँदै बन्द गरेको छ । २०७२ असोजमा निर्माण कार्य सकिनुपर्ने पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेका मुख्यमन्त्री राईले डिजाइन अनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कारबाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गरिने समेत बताए । पुलको जमिनमुनिको पिलर निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो । स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माणका लागि पछिल्लो पटक २०७७ पुस १३ गतेसम्म म्याद थप गरेको थियो ।
१४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुल हालसम्म तीन करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । मुख्यमन्त्री राईसँगै पुल अनुगमनका क्रममा जिल्ला समन्वय समिमि सङ्खुवासभाका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायत पनि सहभागी थिए ।
मुख्यमन्त्री राईले लम्सुवावाट केहि किलोमिटर माथि अरुण नदिको सतिघाट खण्डमा तत्काल पक्की पुलको ठेक्का लाग्ने प्रक्रियामा रहेको वताए । सतिघाटमा पुलनिर्माणको डिपिआर लगायतका प्रक्रिया अघिल्ला मुख्य मन्त्री शेरधन राईको कार्यकालमा सम्पन्न भएको थियो ।