भोजपुर- भोजपुरको सर्वाधिक पुरस्कार राशीको भोजपुर गोल्ड कपको उपाधि गोर्खा ब्वाइज रुपन्देहीले जितेको छ । गोर्खा ब्वाइजले भारतको अमुक्ता परिवार, पश्चिम बङ्गाल विरुद्ध ५–० को फराकिलो जित निकाल्दै भोजपुर गोल्डकपको उपाधि चुमेको हो ।
सोमबार सम्पन्न भएको फाइनल खेलमा एक पक्षिय खेल खेल्दै रुपन्देहीले पश्चिम बङ्गाललाई ५ गोल गर्दै पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको विजेता बन्न सफल भएको हो ।
फराकिलो जित निकाल्दै फाईनल यात्रा तय गरेको अमुक्ता परिवारले फाइनल खेलमा भने सोचे जस्तो प्रदर्शन गर्न सकेन । जिल्ला सदरमुकामको स्थानीय टुँडिखेलमा खचाखच दर्शकबीच भएको खेलमा रुपन्देहीका तर्फबाट फोफनाले खेलको ३८ औँ र ४४ औँ मिनेटमा दुई गोल गरे भने यानिकले खेलको ५२ औँ र ७० औँ मिनेटमा दुई गोल गरेका थिए । खेलको ६४औ मिनेटमा जर्सी नम्वर १५ का सुसन तामाङले १ गोल गर्दै आफ्रनो टीमलाई फराकिलो जीत दिलाएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच २ गोल गरेका रुपन्देहीका खेलाडी फोफना भए । विजेता बनेसँगै रुपन्देहीले नगद ५ लाख र उपविजेता पश्चिम बङ्गालले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिताको उदयमान खेलाडी भोजपुरका प्रवीण राई, उत्कृष्ट गोलरक्षक रुपन्देहीका देव लिम्बू भएका भने अन्य विधामा पनि रुपन्देहीका उत्कृष्ट रक्षक एबोडे, उत्कृष्ट मिडफिल्डर सुनिल खडका, उत्कृष्ट प्रशिक्षक जग्गुनाथ खडका, सर्वाधिक गोलकर्ता यानिक र अमुक्ता परिवारका सौरभ तामाङ बने । गोर्खा ब्वाइज रुपन्देहीका सुशील यादव नै सर्वोत्कृष्ट खेलाडी बन्न पुगे ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा अमुक्ता परिवार, पश्चिम बङ्गाल भारत, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सगरमाथा युथ क्लब मोरङ, राष्ट्रिय जागृती क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही सहित आठ टिमले सहभागिता जनाएका थिए ।