युडब्लुएसको विद्यालय भवन उद्घाटन

संखुवासभा, १९ चैत्र- संखुवासभा जिल्लाको मादी नगरपालिका–१ मदामसिंहमा युनाईटेड वर्ल्ड स्कुल्स (युडब्लुएस)को विद्यालय भवन उद्घाटन भएको छ ।
बिहिबार एक कार्यक्रम बिच युनाईटेड वर्ल्ड स्कुल्सका कार्यकारी निर्देशक (सिइओ) दिब्या ओ’ कनर र मुख्य लगानीकर्ता ट्रपिक टिनक्यर कम्पनीकी  कार्यकारी निर्देशक (सिइओ) सुजन्माले संयुक्त रुपमा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् ।
उक्त विद्यालय भवनको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर १ का सांसद पदमकुमारी गुरुङ, मादी नगरपालिका मेयर विदुर लिङथेप, युडब्लुएस नेपालका निर्देशक सुर्य कार्की, मादी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष खेमनाथ कटुवाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य लगानीकर्ता ट्रपिक टिनक्यर कम्पनीकी  कार्यकारी निर्देशक (सिइओ) सुजन्माले पढाईले मानिसलाई प्रगति पथमा अगाडि बढाउने बताईन् । उनले अहिलेका बालबालिकाहरु भविष्यका कर्णधार भएकाले जस्तोसुकै अवस्थामा पनि पढाईलाई निरन्तरता दिन आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
उनले कार्यक्रममा आफ्नो बाल्यकाल स्मरण गर्दै भनिन्—‘म आफु पनि १५ बर्षको उमेर देखि पढाई र कम्पनी संचालन गर्दै आए । आमाले नै मलाई हुर्काउनभयो र अहिले ३३ बर्षको उमेरमा करिब ५ सय जना कामदार राखेर कम्पनी संचालन गरिरहेकी  छु । कोही पनि बालबालिकाहरु पढाईबाट बञ्चित नहोस भनेर विभिन्न देशका बालबालिकाको पढाईमा सहयोग गर्दै आएका छौँ । त्यसैबखतमा नेपालमा लगानी गरेको र स्थलगत रुपमा समेत हेर्न आएका हौँ ।”
त्यसैगरि युनाईटेड वर्ल्ड स्कुल्सका कार्यकारी निर्देशक दिब्याले भनिन्—‘सुजन्मा जस्ता सहयोगी दाता भए शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न अझ सहजता हुने र हौसला समेत मिल्नेछ ।’
त्यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश १ की सांसद पदमकुमारी गुरुङले शिक्षाका क्षेत्रमा प्रदेश सरकार र आफ्नो तर्फबाट आर्थिक भाौतिक लगायत जस्तोसुकै सहयोग गर्न तयार भएको बताइन् । उनले विद्यालयका लागि आवश्यक पर्ने सहयोगका लागि आफु प्रतिवद्ध रहेको भनाइ राखिन् ।
त्यस्तै मादी नगरपालिकाका मेयर बिदुर कुमार लिङ्थेपले युडब्लुएस नेपाल जस्ता सहयोगी दाताहरुले भविष्यका कर्णधार उत्पादन हुने विद्यालयमा लगानी गरि राम्रो  काम गरिरहेकाले मादी नगरपालिकाले सम्मान र सहकार्यलाई निरन्तरता दिने बताए । उनले विद्यालय र शिक्षा क्षेत्रका लागि युनाईटेड वर्ल्ड स्कुल्ससँग सहकार्य गर्न मादी नगरपालिका सदैव तयार रहेको बताए ।
मदामसिंहमा रहेको सिंहेश्वरी आधारभुत विद्यालयलाई स्थानीय सरकारसँगको साझेदारीमा युनाईटेड वर्ल्ड स्कुल्सले लगानी गरेको हो । युडब्लुएसले उक्त स्कुल्समा भौतिक पुर्वाधारको विकाससँगै ११ कोठे नयाँ भवन र शौचालय निर्माण गरिदिएको छ । युडब्लुएसको ४४ लाख रुपैया र त्यसको ३० प्रतिशत स्थानीय जनश्रमदान रहेको छ । उक्त विद्यालयमा युडब्लुएसले शिक्षक समेत व्यवस्थापन गरिदिएको छ ।