भोजपुरको षडानन्द नगरपालिकाले १५ औं संस्करणको रामनवमी कप खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हिले बजारमा आयोजित प्रतियोगिताको फाइनलमा षडानन्दले आइतबार झापा भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।
झापाले पहिलो सेट २५–२१ अंकले जितेको थियो । बाँकी लगातार तीन सेट षडानन्दले २५–१८, २५–१४ र २५–२२ अंकले हराउँदै उपाधि उचालेको हो । षडानन्द नगरपालिकाले १ लाख २१ हजार, झापाले ६१ हजार रुपैयाँ, ट्रफी एवं प्रमाणपत्र हात पारे । प्रतियोगितामा प्रदेश १ का आठ पालिकाको सहभागिता थियो ।
प्रतियोगितामा आयोजक हिले भलिबल क्लब, झापा गाउँपालिका (झापा), साँगुरीगढी (धनकुटा), चुलाचुली (इलाम), षडानन्द (भोजपुर), चौबिसे (धनकुटा), आमचोक (भोजपुर) र सभापोखरी (संखुवासभा) भलिबल क्लब सहभागी थिए । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलगायतले विजयी हुनेलाई पुरस्कृत गरे ।