
भोजपुर- भोजपुरका २ वटा पालिकामा नेकपा एमालेले सर्व सम्मत उमेद्वार चयन गरेको छ । भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सम्बन्धित कमिटीले आज सर्वसम्मत उम्मेदवार तय गरेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए ।
एमालेले भोजपुर नगरपालिका मेयरमा भरत तामाङ र उपमेयरमा निर्मला शेर्पालाई चयन गरेको छ । तामाङ तत्कालीन भोजपुर गाविसका अध्यक्षसमेत हुन् । त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् ।
२०७४ को चुनावमा टेम्केमैयुङ्मा एमालेविरुद्ध सबै दल मिलेर महागठवन्धन भई उम्मेदवारी दिएका थिए । यहाँ गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम, नेपालका रामसिंह राई ध्रुवराज राईसँग पराजित भएका थिए । एमालेका ध्रुवराज राईले २ हजार ७ सय ८० मत ल्याउँदा रामसिंले २ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।