नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान र ज्ञापन पत्र पेश

दिंला- भोजपुरको षडानन्द नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालय कर्मचारी तथा ईसीडी शिक्षक युनियन षडानन्द नगर कार्य समितिले सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि युनियनले नगर प्रमुख सुरेन्द्र उदास, उप प्रमुख प्रमिला राई , वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा विद्यालय कर्मचारी तथा ईसीडी शिक्षक युनियनको तर्फवाट नगरका जनप्रतिनिधि समक्ष ज्ञापन पत्र पेश गरिएको थियो । ज्ञापन पत्रमा विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकहरुले लामो समय देखि न्युन वेतनमा काम गर्नु परिरहेकोले तलव वढाईदिनको लागि माग गरिएको छ । ज्ञापन पत्रमा जेष्ठ १५ गते सरकारले ल्यएको बजेटमा कुनै पनि सम्वोधन नभएकोले देशभर हडताल गर्नुपर्ने अवस्थापनि हुन सक्ने उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा बाल विकास शिक्षिकालाई न्युनतम १५ हजार, कार्यालय सहयोगिलाई १५ हजार र सहायक लेखापाललाई न्युनतम २० हजार ५ सय उपलव्ध गराउन माग गरिएको छ । त्यस्तै संघीय सरकारले कर्मचारीलाई बृद्धि गरेको १५ प्रतिशत तलव र २ हजार महंगी भत्ता पनि नगरपालिकाले थप गरि उपलव्ध गराउन माग गरिएको छ ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले शिक्षक तथा कर्मचारीहरुको माग सकारात्मक भएको विचार प्रस्तुत गरेकाछन् । कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख सुरेन्द्र उदासले आँफुले पनि लामो समय शिक्षण पेशामा सेवा गरेको स्मरण गर्दै शिक्षकको पीडा राम्रो सँग बुझेको हुँदा कार्यपालिकावाट यस समस्या समाधानको लागि लागिपर्ने वताए ।

त्यस्तै नगर उप प्रमुख प्रमिला राईले शिक्षक कर्मचारीको माग जायज रहेको अभिव्यक्ति दिईन् । उनले शिक्षकको समस्या जायज रहेकोले त्यसको समाधानमा कुनै कसर वाँकि नराख्ने वताईन । उनले विद्यालयको शैक्षिक गुणस्तर तर्फ लक्षित गर्दै शिक्षक, कर्मचारीले आफ्नो अधिकार खोजिरहदा कर्तव्य पुरा गर्नपनि लागिपर्नुपर्ने कुरामा जोड दिईन् ।

विद्यालय कर्मचारी तथा ईसीडी शिक्षक युनियन षडानन्द नगर कार्य समितिका अध्यक्ष पर्शुराम गौतमले नगरमा अधिकांश जनप्रतिनिधी शिक्षक , कर्मचारीको समस्या बुझेको भएकोले समस्या समाधान हुनेमा ढुक्क रहेको वताए । नगरपालिकाले समस्या समाधान नगरेमा कडा आन्दोलन गर्न पनि पछि नहट्ने उनको भनाई थियो । कार्यक्रममा जन प्रतिनिधि, कर्मचारी, शैक्षिक संघ संस्थाका प्रतिनिध लगायत ईसिडी शिक्षक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।