काठमाडौं- अनलाइन बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड एपमा नयाँ मालवेयर स्क्याम देखापरेको छ । साइबर सुरक्षामा अनुसन्धान गर्दै आएको ‘एफ फाइभ ल्याब’ का अनुसार केही एपमार्फत ‘मालिबट’ नामक मालवेयर फैलिएको हो ।
यो मालवेयरमार्फत ह्याकरले प्रयोगकर्ताको बैंकिङ र क्रिप्टो वालेट एपका जानकारी चोरिरहेको एफ फाइभ ल्याबले दाबी गरेको छ । अनुसन्धान अनुसार यो मालवेयर एन्ड्रोइड क्रिप्टोकरेन्सी माइनिङ एपहरूमा बढी देखिएको छ । यसअन्तर्गत ‘द क्रिप्टो एप’ जस्ता क्रिप्टोसँग सम्बन्धित चर्चित माइनिङ एपका फेक भर्सन (एप) पनि छन् ।
प्रयोगकर्ताले ‘द क्रिप्टो एप’ का फेक एप डाउनलोड गरिरहेकाले त्यस्ता प्रयोगकर्ता यो मालवेयरबाट प्रभावित भइरहेको एफ फाइभ ल्याबले जनाएको छ ।
यसका साथै ‘माइनिङ एक्स’ नामक एपमा पनि सोही मालवेयर देखापरेको छ, जसमार्फत प्रयोगकर्ताको मोबाइल तथा इन्टरनेट बैंकिङ पासवर्ड, युजरनेम, ईमेल लगायतका महत्त्वपूर्ण जानकारी संकलन भइरहेको जनाइएको छ ।
यो मालवेयर रूसबाट सञ्चालित रहेको अनुमान गरिएको छ । एफ फाइभ ल्याबका अनुसार यो मालवेयरले प्रयोगकर्ताको बैंकिङ विवरण पहुँचमा लिएर त्यसबाट कारोबार गर्नेसम्मका काम गर्नसक्छ ।
विशेषगरी प्रयोगकर्ताको मोबाइलमा आउने मेसेजमै यसले नियन्त्रण गर्नसक्ने हुँदा कारोबार तथा लगईन गर्दाको सम्पूर्ण मेसेज डिलिट गरेर प्रयोगकर्तालाई कुनै जानकारी नहुने गरी यो मालवेयरले काम गर्नेछ ।
यो मालवेयरले अहिले स्पेन, इटाली लगायत युरोपेली देशका प्रयोगकर्ताको बैंक र क्रिप्टोकरेन्सी अकाउन्टलाई निशाना बनाइरहेको रिपोर्टमा उल्लेख छ ।
एफ फाइभ ल्याबले तत्कालै यस्ता एप डिलिट गर्न तथा आफ्ना बैंकिङ डिटेल परिवर्तन गर्नसमेत आग्रह गरेको छ ।