दिंला- स्याङ्जाको बोलबम समितिको जम्वो टोलीले भोजपुरको ऐतिहासिक स्थल दिंलाको भ्रमण गरेको छ । स्याङ्जाको वालिंगका राजनीतिज्ञ, शिक्षक, व्यापारी, बुद्धिजिवि, जनप्रतिनिधि लगायत ८२ जनाको टोलीले शुक्रवार समाज सुधारक बालागुरु षडानन्द र विदुसी योगमायाको जन्म स्थल षडानन्द नगरपालिकाको भ्रमण गरेको हो ।
स्याङ्जाको भ्रमण टोलीले रामचन्द्र मन्दिर, बगैंचा, कैलाश, दिंला बजार र योगमायाको तपोभुमी तथा जलसमाधि स्थल मझुवा बेंशिको समेत भ्रमण गरेको छ । भ्रमण टोलीलाई षडानन्द नगरपालिकाका जनप्रतिनिधि र षडानन्द सिताराम गुठीका पदाधिकारीले संयुक्त रुपमा स्वागत गरेका थिए ।
दिंला बजारमा रहेको बहुउद्देश्यिय भवनमा आयोजित स्वागत कार्यक्रममा षडानन्द नगरपालिका र बोलबम समितिका विच मायाको चिनो आदान प्रदान भएको थियो । षडानन्द नगरपालिकाका जनप्रतिनिधि र षडानन्द सिताराम गुठीका पदाधिकारीले भ्रमण टोलिका सदस्यहरुलाई रुद्राक्षको माला र षडानन्द गुरुको तस्वीर उपहार दिएका थिए । कार्यक्रममा बोल्दै बोलबम समितिका अध्यक्ष दिपेन्द्र तिवारीले विद्यालय तहमा कितावमा पढेको षडानन्द गुरुको जन्म र कर्मभूमिको यात्रा गर्नपाउँदा खुशीलागेको अनुभव सुनाए । उनले देशकै १० स्मार्ट नगरको रुपमा पर्न सफल वालिङ नगरपालिकाको भ्रमणको निम्ता समेत षडानन्द सिताराम गुठी र षडानन्द नगरपालिकालाई दिए ।
कार्यक्रममा बोल्दै षडानन्द नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष दिपेश विष्टले षडानन्द गुरुको पवित्र भूमिको यात्रा गरिदिएर यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुर्याईदिएकोमा बोलबम समितिलाई धन्यवाद प्रकट गरे । षडानन्द सिताराम गुठीले यो भ्रमण टोलि यस क्षेत्रको भ्रमण गर्ने अहिले सम्मकै ठूलो भएको वताएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै षडानन्द सिताराम गुठीका अध्यक्ष प्रकास पौडेलले यति ठूलो भ्रमण टोलीले दिंलाको भ्रमण गरेर पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुर्याएको वताए । फरक प्रसंगमा उनले भोजपुरमा राष्ट्रपति, मन्त्री, मुख्यमन्त्रीहरु जन्मिएतापनि अहिले सम्मपनि जिल्ला विकासको हिसावले पुर्वको कर्णालीको रुपमा रहेको वास्तविकता उजागर गरे ।