नेपालले केन्यालाई ५ विकेटको फराकिलो अन्तरले हरायो

एजेन्सी– नेपालले पहिलो टि२० आई खेलमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ३० बलमा ३ चौकासहित २३ रनमा आउट भए ।

ओपनर पवन सरार्फ १, आसिफ शेख १९ र रोहित पौडेल १३ रनमा आउट भए । आसिफले २७ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख १५ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । आदिल अन्सारी २ रनमा अविजित रहे ।

केन्याका विराज पटेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । लुकास ओलुओले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । केन्याका विकेटकिपर इफरान करिमले ४४ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच १३ बलमा ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।

तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर एलेक्स ओबान्डालाई ६ रनमा बोल्ड आउट गरे । एलेसले त्यसअघिको बलमा सोमपाललाई छक्का हानेका थिए । आदिल अन्सारीको छैटौं ओभरको अन्तिम बलमा कोलिन्स ओबुया मिडअफमा ज्ञानेन्द्र मल्लबाट १२ रनमा क्याच आउट भए । उनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रकिब पटेललाई सन्दीप लामिछानेले आठौं ओभरको दोस्रो बलमा ९ रनमा एलबीडब्लू आउट गरे । दीपेन्द्रसिंह ऐरीले नेल्सन ओधियाम्बोलाई १९ रनमा वैकिल्पक फिल्डर देव खनालबाट क्याच गराए । इफराम करिमलाई सन्दीपले नै कट एण्ड बोल्डको सिकार बनाए । १८ औं ओभरमा सन्दीपले दुई छक्का र एक चौकासहित कुल १७ रन खर्चिएका थिए ।

सचिन भुडिया १५ बलमा २ छक्कासहित १७ रनमा आउट भए । लगत्तै अर्को बलमा शेम न्योचेलाई आउट गरे । १९ औं ओभरमा सोमपालले दुई विकेट लिँदै मात्र एक रनमात्र खर्चिए ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।