हरेक निर्वाचन नजिकिँदै जाँदा तिनै उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं ५, दोभाने चिलिमधापका पासाङ तामाङलाई भने एकदमै पीर पर्छ। घरदेखि झण्डै सवा ४ घण्टाको पैदल दुरीमा पर्ने ईन्द्रावती मावि साल्पाफेदी दोभानेमा उनको मतदान केन्द्र पर्छ । पायक स्थानदेखि कोषौँ टाढाको मतदान केन्द्रमा पुगेर घर आईपुग्नै पुरै दिन बित्ने उनी सुनाउँछन् ।
‘मतदाता भएर आफ्नो अधिकारको सदुपयोग गर्न पनि समस्या छ, मतदान गर्न जानै दिन वित्छ’ उनले भने, ‘पायक स्थानमा मतदान केन्द्र नतोकिँदा बर्षौदेखि हरेक चुनावमा मतदान गर्नै सास्ती छ, हामीलाई मतदान गर्ने नैसर्गिक अधिकारभन्दा पनि बढि सास्ती हुनेगर्छ।’
पासाङ लगायत उक्त चिलिमधापका करिब १८ घरका मतदाताको हविगत पनि उस्तै छ । संघ तथा प्रदेश चुनाव नजिकिँदै जाँदा दुर्गम भेगका मतदातालाई भने चरम सास्ती हुने गरेको छ । मतदातालाई घरपायक स्थानमा मतदानस्थल र मतदान केन्द्र नहुँदा सास्ती पुगेको उनीहरु बताउँछन् । त्यस्तै साल्पासिलिछो गाउँपालिका दोभाने ओखरबोटेका राजकुमार राईलाई पनि उस्तै सास्ती छ ।
मतदानस्थल पुग्नै उनलाई पनि करिब पौने ३ घण्टा पैदल हिँड्नुपर्ने स्थिति छ । भौगोलिक विकटताका कारण र सहज मतदान केन्द्रको निर्धारण नहुँदा मतदातालाई मतदान गर्न धाउनै समस्या हुने गरेको उनले बताए ।
यस्तै पूर्वी पौवादुङमा गाउँपालिका ६, ठुलोदुम्मा, मात्ताङका ६७ वर्षीय मानप्रसाद राईलाई पनि उनको मतदान केन्द्र सूर्योदय मावि फान्टाङथर्पुसम्म आईपुग्न ३ घण्टा उकालो धाउनुपर्छ । उक्त स्थानका करिब ७ घरका मतदातालाई पनि हरेक चुनावमा मतदानकेन्द्र धाउनै सास्ती छ ।
‘बुढेसकालले छुईसक्यो तर भोट खसाल्न नजिक कहिल्यै ल्याएनन्, बुढेसकालमा पनि ढाड दुखिञ्जेल उकालो चढ्नै पर्ने बाध्यता छ, के गर्नु’ मानप्रसाद राईले भने ।
निर्वाचन लक्षित मतदाताको पायक स्थानको मतदानकेन्द्र र मतदानस्थलको निर्धारणमा पुरानै परिपाटीका कारण पनि मतदातालाई सास्ती पुगेको हो । जिल्ला प्रशासन र निर्वाचन आयोगले भौगोलिक रुपमा दुर्गम क्षेत्रमा मतदाताको सहजताका लागि स्थल निर्धारण गर्न नसक्दा वर्षौदेखि समस्या झेल्नुपरिरहेको कानून व्यवसायी तीर्थकुमार राईले बताए ।
निर्वाचनमा मतदाताका लागि सहज गराउन भरपुर प्रयास भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले दुर्गम क्षेत्रका मतदाताको सहजताको अनुगमन गरेरै मतदानकेन्द्र र मतदानस्थलहरु निर्धारण गरिएको उनले बताए ।
भोजपुरमा यसपटक संघ र प्रदेश निर्वाचनका लागि ९ स्थानीय तहका ८१ वडामा ८७ मतदानस्थल र १ सय ५७ मतदानकेन्द्र निर्धारण गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउने आवश्यक सुरक्षा प्रबन्ध मिलाइ सकिएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले बताए । उनले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको टोली पुगिसकेको बताए । अन्नपूर्णपोष्टवाट