प्रदेश १ मा एमाले १२, सत्ता गठबन्धन १० र रास्वपा ३ क्षेत्रमा अगाडि

प्रदेश १ स्थित प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्रमध्ये २७ वटाको प्रारम्भिक नतिजामा एमाले १२, सत्ता गठबन्धन १०, राष्ट्रिय स्वतन्त्र पार्टी ३, राप्रपा र स्वतन्त्रले १-१ क्षेत्रमा अग्रता लिएका छन् । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ३६ वटा क्षेत्रको मतगणना भइरहेको छ । जसमा सत्ता गठबन्धनका २०, एमालेका १५ र राप्रपाको एक क्षेत्रमा अग्रता रहेको छ ।

मंगलबार साँझ ६ बजेसम्मको मतगणनाको मत परिणाम अनुसार यस प्रदेशको १४ वटै जिल्लामध्ये सबभन्दा बढी ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा सत्ता गठबन्धनको ३, एमाले २ र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । मोरङ क्षेत्र १ मा कांग्रेसका डीगबहादुर लिम्बुलाई पछि पार्दै एमालेका घनश्याम खतिवडा, क्षेत्र २ मा कांग्रेसकी सुजाता कोइराला, क्षेत्र ३ मा एमालेका निवर्तमान सांसद भानुभक्त ढकाललाई पछि पार्दै कांग्रेसका सुनिल शर्माले अग्रता कायम राखेको छ । यस्तै, क्षेत्र ४ मा एमालेका विनोद ढकाललाई पछिपार्दै माओवादी केन्द्रका निवर्तमान सांसद अमनलाल मोदी, क्षेत्र ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल र क्षेत्र ६ मा निवर्तमान सांसद लालबाबु पण्डितलाई पछिपार्दै कांग्रेसका शेखर कोइरालाले अग्रता कायम राखेको छ ।

क्षेत्र २ कांग्रेसकी कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । मंगलबार साँझ ६ बजेसम्ममा सुजाताले ४ हजार ३७० र पोखरेलले ४ हजार ३१३ मत प्राप्त गरेका छन् । झापा १ मा विश्वप्रकाश शर्माले १९ हजार २९३ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी एमालेका अग्नी प्रसाद खरेलले ११ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । शर्मालाई उनका समर्थकहरुले सामाजिक सञ्जालमा बधाई दिन थालेका छन् ।

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले १० हजार ३६५ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ७ हजार ८६४ मत प्राप्त गरेका छन् । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ६७१ मत ल्याउँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर यस प्रदेशमा १६ क्षेत्रमा जित निकालेका एमालेले मंगलबार साँझसम्ममा ताप्लेजुङ १, पाँचथर १, इलाको १ र २, झापको २, ३ र ५, मोरङको १, सुनसरीको ४, धनकुटाको १, संखुवासभाको १, तेह्रथुमको १ र उदयपुरको २ नम्बर क्षेत्रमा अग्रता लिएको छ ।

अघिल्लो निर्वाचनमा ५ क्षेत्रमा सिमित भएका कांग्रेसले यसपटक झापा १, मोरङ २, ३ र ६, ओखलढुंगाको १ र उदयपुरको १ नम्बर क्षेत्रमा अग्रता लिएको छ । यस्तै, गत निर्वाचनमा ६ क्षेत्रमा जितेका माओवादी केन्द्रले यसपटक मोरङको ४, सुनसरीको १, भोजपुरको १ र खोटाङको १ नम्बर क्षेत्रमा अग्रता लिएको छ । अघिल्लो निर्वाचनमा एक क्षेत्र जितेका राप्रपाले यसपटक पनि एउटा क्षेत्रमा मात्रै अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस प्रदेशको झापाको ४, सुनसरीको २ र ३, र स्वतन्त्रले मोरङको ५ नम्बर क्षेत्रमा अग्रता लिएको छ ।

प्रदेश १ का संस्थापक मुख्यमन्त्री एमालेका शेरधन राईलाई भोजपुर १ मा माओवादी केन्द्रका सुदन किरातीले र अर्का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यलाई सुनसरीको क्षेत्र २ मा पछिपार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले अग्रता लिएको छ ।