काठमाडौं,१० पुस- सडक विभागले सतिघाटमा निर्माण हुने भनिएको पक्की पुलको पुनः ठेक्का खुलाएको छ । शुक्रवार सुचना प्रकाशित गर्दै डिजाईन र निर्माण प्रणालीवाट सडक विभागले ठेक्का खुलाएकोे हो । पुलको ठेक्का रद्ध भएपछि षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले सडक बिभाग पुल महाशाखाका प्रमुख ईन्जिनयर उमेश बिन्दु श्रेष्ठ सहित सम्बन्धित निकायका इन्जिनियरसँग पुनः तुरुन्तै ठेक्का खुलाउने सहमति गरेका थिए ।
डिजाईन र विल्ट प्रणाली मार्फत खुलाईएको ठेक्कामा ठेकेदारले आँफै डिजाईन गरेर ठेक्का हाल्नुपर्ने र कम दरमा पेश गरिएको ठेक्काको प्रस्तावना योग्य ठेकेदारले ठेक्का पाउने सडक विभागले जनाएको छ । पुलको लागत ठेकेदारले कवोल गरेको दरको आधारमानै हुने जनाईएकोछ । ठेक्का पाउने कम्पनीले ६ महिना भित्र पूर्ण डिजाईन पेश गर्नुपर्ने र त्यसको ३ महिना भित्र डिजाईन पास गराउनु पर्ने र त्यसपछि निर्माण कार्य शुरु हुने विभागले जनाएको छ । योग्य कम्पनीलाई मात्र ठेक्का प्रक्रियामा सहभागि हुन र डाक बोल्नुअघि अनिवार्य पुल निर्माण स्थलको अवलोकन गर्न पनि विभागले सूचनामा उल्लेख गरेको छ । केहि महिना अघि विभागले ठेक्का खुलाएर ठेकेदारले ठेक्का हालेतापनि ठेकेदार योग्य नभएपछि सडक विभागले रद्ध गरेको थियो ।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग जोडने अरुण नदीमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षातको समयमा यातायातमा समस्या हुने गरेको छ। पुल अभावमा हरेक वर्ष करीब पाँच महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको छ।