ग्याँसलाई कसरी सुरक्षित रूपमा प्रयोग गर्ने ?

काठमाडौँ- काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए । हरिकलाको बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भयो । स्वास्थ्य अवस्था जटिल रहेका चन्द्रलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

बिहीबार नै दाङ तुलसीपुरमा पनि खाना पकाउने क्रममा ग्यासको सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका १६ लहलौरा निवासी ५० वर्षीया कुसुम केसीले सञ्चालन गर्दै आएको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यास ‘लिक’ भएर पड्किँदा दुई जना घाइते भएका हुन् ।

केही घण्टाको अन्तरालमा भएका यी दुवै घटनाले सिलिण्डरको गुणस्तर र सुरक्षित प्रयोगबारे प्रश्न खडा भएका छन् । म्याद नाघेको सिलिन्डर र ग्यास सिलिन्डर प्रयोगबारे पर्याप्त जानकारी नहुँदा बर्सेनि यस्ता घटना दोहोरिने गरेका छन् । जानकारका अनुसार ग्यास सिलिन्डरको हाइड्रोलिङरहाइड्रो स्टाटिक प्रेसर टेस्ट, रेगुलेटर र कमसल पाइपसँगै सचेतनाका कमीले दुर्घटना बढेको हो ।

नेपाल आयल निगमका एलपी तथा एभिएसन विभाग निर्देशक नेत्रप्रसाद काफ्लेका अनुसार मुलुकभर ५९ ग्यास उद्योग छन् । ती ग्यास उद्योगका १ करोड ११ लाख सिलिन्डर बजारमा छन् । ती ग्यास सिलिन्डरको परीक्षण, प्रयोगविधि र सचेतनाको अभावले दुर्घटना हुने गरेको उनले बताए । ग्यास विक्रेता महासंघका अध्यक्ष चन्द्र थापाले सामानको गुणस्तरमा पहिले ध्यान दिनुपर्ने बताए । आईएसओबाट मान्यता पाएको रेगुलेटर र तारले जेलिएको पाइप मात्रै प्रयोग गर्न उनी सुझाउँछन् । ‘बजारमा कमसल रेगुलेटर र ग्यास पाइप प्रशस्तै पाइन्छ, आईएसओ अंकित रेगुलेटर र तारले जेलिएको पाइप प्रयोग नगर्दा पनि दुर्घटना भएको छ,’ थापाले भने । सिलिन्डरको भल्बाट पनि ग्यास लिक हुने सम्भावना रहेकाले उपभोक्ताले भल्ब कुच्चिएको वा बांग्गिएको अवस्थामा फिर्ता गर्नुपर्ने उनी बताउँछन् ।

रेगुलेटर र पाइप स्वदेशमा पनि उत्पादन हुने गरेका छन् । धेरैजसोले गुणस्तरको मापदण्ड पालना नगर्न सक्ने भएकाले त्यससम्बन्धी निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनले बताए । गुणस्तर तथा नापतौल विभागका अनुसार ग्यास पड्किनुमा विभिन्न कारण छन् । धेरैजसो ग्यास लिकु रेगुलेटर भल्बबाटै हुने गरेको विभागका महानिर्देशक दिनानाथ मिश्रले बताए । उपभोक्ताले गुणस्तरीय रेगुलेटर र पाइप प्रयोग सही रुपमा फिटिङ गर्नुपर्नेमा उनले जोड दिए । पाइप, रेगुलेटर र चुलोमा फिटिङ सही तरिकाले नहुँदा ग्यास लिकेज हुन सक्छ यसप्रति एकदमै सजग हुनुपर्छु उनले भने ।

सिलिन्डर किन्दा पनि केही आधारभूत पक्ष उपभोक्ताले बुझ्नैपर्ने उनले बताए । भल्बका कारण पनि जोखिम हुने भएकाले सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य हुनुपर्छु उनले भने । सिलिन्डरको बडी लिकेजले पनि दुर्घटना निम्तिन सक्ने उनले बताए ।सिलिन्डरको बडी लिकेजका सन्दर्भमा, ग्यास उद्योग, वितरक, डिलरमा समेत स्टोर हुने हुँदा लिकेज भइहालेमा थाहा हुन्छ । मिश्रले भने, ‘सिलिन्डर प्रयोग गर्दा म्याद नाघेरननाघेको पनि हेर्नुपर्छ ।’

उनका अनुसार सिलिन्डरको माथिल्लो सतहको भित्री बारमा म्याद लेखिएको हुन्छ । म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ । एउटा अक्षरले तीन महिना जनाउछ । ‘ए लेखिएको भए जनवरीदेखि मार्चसम्मको महिनालाई बुझाउँछ । त्यसैगरी, बी, सी र डीको अवधि ३ महिनाका दरले क्रमश तोकिएको हुन्छ । त्यसपछि दुई अंक ९जस्तै २३, २४, २५, २६, २७, २८ ० लेखिएको हुन्छ । यसले म्याद सकिने अंग्रेजी मितिलाई जनाउँछ । यदी ए २४ लेखिएको भए सन् २०२४ को मार्चसम्म मात्रै त्यो सिलिन्डर प्रयोगको उपयुक्त म्याद हो । महानिर्देशक मिश्रले त्यो मिति हेरेर मात्रै खरिद गर्न सुझाव दिन्छन् ।

खरिद बाहेक घरमा प्रयोगका बेला पनि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने जानकार बताउँछन् । ग्यास लिकेज भएको गन्ध आएमा तुरुन्त रेगुलेटर बन्द गरी, चिसो कपडाले बेरेर वा सेफ्टी क्याप लगाएर खुल्ला ठाउँमा लैजानुपर्ने मिश्रले बताए । कोठामा ग्यास लिक भएर गन्ध आएको अवस्थामा बिजुलीका स्विच नथिच्ने, सलाई, लाइटरजस्ता आगो उत्पन्न हुने सामग्री बाल्न नहुने उनले बताए । बरु झ्याल ढोका लागेको अवस्था भएमा खोल्नुपर्छ । विभागका अनुसार खाना पकाइरहँदा चुलो बले नबलेको, ग्यासको गन्धबारे पनि उपभोक्ता सजग भइरहनुपर्दछ, चुलो बलिरहेका बेला अन्य काममा लाग्नु हुँदैन । सिलिन्डरभन्दा चुलो केही उचाइमा राखेर प्रयोग गर्ने । सिलिन्डर कोल्ट्याउने वा ढलाएर प्रयोग नगर्ने, खाना बनाइसकेपछि चुलोसँगै रेगुलेटर बन्द गर्नुपर्छ । त्यस्तै बढीमा ३/३ वर्षमा वा म्याद सकिएपछि रेगुलेटर र पाइप फेर्नुपर्छ । विभागका अनुसार उद्योगहरूले पनि सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ । त्यसपछि प्रत्येक ५/५ वर्षमा गर्नुपर्छ । तर उद्योगहरूले यसको परीक्षणमा कति ध्यान दिएका छन् भन्नेबारे पनि सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने मिश्रले बताए । परीक्षणको क्रममा सिलिन्डरमा कैफियत देखिए तत्काल नष्ट गर्नुपर्ने उनको भनाइ छ ।