यु. डब्लु. एस. नेपाल संखुवासभाको फेलोमिट सम्पन्न

संखुवासभा
चैनपुर नगरपालिका वडा नं. ११ मा रहेको श्री बानेश्वर आ.वि. (यु.डब्लु.एस अर्चले) मा युडब्लुएस नेपाल संखुवासभाको आयोजनामा ३ दिने फेलोमिट कार्यक्रम सम्पन्न भएको छ । युनाईटेड वर्ल्ड स्कुल्सको आयोजनामा १७ गते देखि १९ गते सम्म फेलोमिट कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा संखुवासभा जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा रहेर गुणस्तरीय शिक्षाका लागी काम गरिरहेका ६ जना फेलो शिक्षकहरुको उपस्थितिमा श्री बानेश्वर आ.वि. का शिक्षकहरुका लागि साकारात्मक व्यवहार व्यवस्थापन, अन्तरक्रियात्मक र विद्यार्थी केन्द्रित सिकाई, model classroom teaching, classroom displays making र कक्षा बाहिर शिक्षण सम्बन्धि सीपहरु सिकाईएका थिए।

विद्यार्थीहरुका लागी good/bad touch, menstruation hygiene management session, brushing and handwashing drills, Read Aloud, games र विद्यार्थी क्षमता प्रस्फोटन सम्बन्धि कार्यक्रमहरु राखिएका थिए।

अभिभावकहरुका लागि घरमा पढ्ने वातावरण कसरी निर्माण गर्ने, विद्यालय भ्रमण गर्नु किन आवश्यक छ, हाँडी फुटाई र बेलुन फुटाई जस्ता कार्यक्रमहरु आयोजना गरिएका थिए।साथै उक्त कार्यक्रमका अवसरमा ईलाका प्रहरी कार्यालय चैनपुर र फेलो शिक्षकको संयुक्त सहकार्यमा अभिभावक र विद्यार्थीलाई “बालविवाह नियन्त्रण” सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम पनि संचालन गरिएको थियो।

कार्यक्रममा सहभागी विध्यालय आमा समुहकी अध्यक्ष मिना कटवालले युडब्लुएसले विद्यालयमा आयोजना गरेको ३ दिने फेलोमिट कार्यक्रमले आगामी दिनमा शैक्षिक गुणस्तरमा थप सुधार हुनेमा आफु आशावादी रहेको बताएकी छन भने विद्यालयमा गठित बालिका समुहकि अध्यक्ष कक्षा ८ मा पढ्ने सुस्मिता माझिले भने आफ्नो विद्यालयमा भएको फेलोमिट कार्यक्रमले गर्दा आफूजस्ता धेरै छात्र र छात्रा विद्यार्थीहरुले महिनावारी सचेतनाका साथसाथै आफूभित्र लुकेर रहेका प्रतिभाहरु आम अभिभावक सामु प्रस्तुत गर्न सक्षम भएकोमा आफु खुसी भएको बताएकि छन्।


त्यसैगरी फेलोमिट कार्यक्रममा बोल्दै चैनपुर नगरपालिका ११ नं. वडाका वडाअध्यक्ष तथा फेलोमिट कार्यक्रमका प्रमुख अतिथी तिर्थ ब. राउतले बानेश्वर आ.वि. बिगत १ वर्षको अन्तरालमा युडब्लुएसले भौतिक र शैक्षिक क्षेत्रमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सबैजना एकजुट भएर लागेमा सामुदायिक विद्यालयलाई सुधार गर्न सकिने रहेछ भन्ने कुरामा युडब्लुएसले यस विद्यालयमा गरेको कामबाट पनि प्रस्ट हुने बताएका थिए। विद्यालयमा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई सम्बोधन गर्दै उनले “होस्टेल व्यवस्थापन” सम्बन्धि विद्यालयले चैनपुर नगरपालिकालाई पेश गरेको प्रस्तावमा आफ्नो तर्फबाट पहल गर्ने पतिवद्धता व्यक्त गरेका थिए।  कार्यक्रममा बोल्दै युडब्लुएस नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी स्थानीय सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखी यु.डब्लु.एस. नेपाल निरन्तर अगाडी बढिरहने बताएका थिए।कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कटुवालले गरेका थिए भने कार्यक्रमको संचालन बानेश्वर आ.वि. का शिक्षक नारायण काफ्लेले गरेका थिए ।