बाँदर नियन्त्रणको माग गर्दै भोजपुर माओवादी केन्द्रले बुझायो ज्ञापनपत्र

भोजपुर- नेकपा माओवादी केन्द्रले बाँदर आतंक रोक्न मागसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष माग गरेको छ । माओवादी केन्द्र भोजपुरले ८१ वडाअध्यक्ष, ९ स्थानीय तह प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई दबाबस्वरूप बाँदर आतङ्क नियन्त्रणका लागि ज्ञापनपत्र बुझाएको हो ।

बाँदरको कारण जिल्लाका केही टोल नै बसाइँ हिँड्नुपरेको छ । केही स्थानीय तहले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्याउँदै आएका छन् । तर, बाँदर बाली खानेमात्र नभई बाँदरले घरमासमेत आएर पाकेको भातको भाँडो बोक्ने, थाङ्ग्रा र बुइँगलमा थन्क्याइएको अन्नपात र सामानमा पनि क्षति पुगेपछि सरकार गुहारिएको माओवादी केन्द्र षडानन्द नगरपालिका नगर अध्यक्ष यंगराज राईले बताए ।

जिल्ला समन्वय समितिका सचिव बलभद्र राईसहित प्रशासन पुगेका माओवादीका जिल्ला नेताले सरकारी तवरबाट बाँदर नियन्त्रण नगरिए स्थानीय किसानहरू बाँदर नियन्त्रण गर्न जस्तो सुकै कठोर कदम चाल्नसमेत बाध्य हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने भन्दै ध्यानाकर्षण गराइएको छ ।

आम कृषकले दुःख र मेहनत गरी लगाएको र फलाएको बाली विभिन्न वन्यजन्तुको नोक्सानी र क्षतिबाट लामो समयदेखि मुख्यगरी ग्रामीण भेगका भोजपुरे किसानहरूले हैरानी खेप्दै आउनु परेको यथार्थ कहिबाट छिपेको छैन । जुनसुकै बाली उठाउन, घरमा थन्क्याउन त परको कुरा बढ्न, फल्न र पाक्न समेत नपाउँदै मुख्यगरी बाँदरले नष्ट गरिदिने, खाइदिने यतिमात्र नभई घर दलानमा लगाएको मकैको थाक्राबाट झिकेर खाइदिने, घरभित्र पकाएर राखिएको भातको भाडा बोकेर लगिदिने, घरपालुवा चौपायामाथि करणी गर्ने, वृद्ध अशक्त एवम् बालबालिकालाई भौतिक आक्रमण समेत गर्ने जस्ता घटनाले सम्पूर्ण किसानहरू आतंकित बन्नु परेको छ’, बाँदरले दुःख दिएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले ज्ञापनपत्रमार्फत प्रधानमन्त्री, गृहमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराएको छ । यसअघि गत माघ १८ गते किसानले बाँदरका कारण पाएको दुःखबारे सदनमा पनि कुरा उठेको थियो ।