
भोजपुर- आयोजक भोजपुर जिल्ला फुटबल संघ भोजपुरमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । मंगलबार डाँगीहाट युथ क्लब मोरङलाई सडन डेथमा ८–७ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा खेलको नवौं मिनेटमा डाँगीहाटका विशाल पाण्डेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । प्रतिष्पर्धात्मक रहेको खेलको पहिलो हाफकै ३५ मिनेटमा आयोजकका रेमन उदासले गोल गर्दै खेललाई वरावरीमा ल्याउन सफल भए । निर्धारित समयमा दुैवै टीमवाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा भोजपुरका खेलाडिहरु विजय भुजेल, रेमन उदास, राम तामाङ,प्रविण राई, लक्ष्मण तामाङ, विवेक राई, सन्तोष तामाङ र गोल रक्षक धिरज मगरले गोल गरेका थिए भने मोरङका विवेक राई, रोशन धिमाल, परविन राई, धिरेन विष्ट, रोमन भुजेल, सुवास तामाङ, विनोद राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच आयोजक टिमका गोल रक्षक धिरज मगर भएका छन् ।
प्रतियोगीता अन्तरगत दोस्रो सेमिफाईनल खेल बुधबार गोर्खा व्याइज रुपन्देहि भर्सेस क्यारुन विच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।