भुटानमाथिको प्रभुत्व कायम राख्दै नेपाल थ्री नेसन्स कपको फाईनलमा

काठमाडौं- नेपालले अन्तर्राष्ट्रिय फुटबलमा भुटानमाथि कायम राख्दै आएको प्रभुत्व मंगलबार बल्लतल्ल जोगाउँदै प्रधानमन्त्रीथ्री नेसन्स कपको फाईनलमा प्रवेश गरेको छ । थ्री नेसन्स कपको लिग चरणको दशरथ रंगशालामा भएको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको हो । हारको संघारमा रहेको नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औं मिनेटमा गोल गरे । नेपालका लागि यो उनको पहिलो गोल हो ।

निशान खड्काको कर्नरमा अनन्त तामाङले सिर्जना गरेको अवसरमा दीपकराजले गोल गरे र नेपाली टिमको उद्धार गरे । भुटानले नेपाललाई बराबरीमा रोकेको पनि यो पहिलोपल्ट हो । यसअघि नेपाल र भुटानबीच १२ खेल भएका थिए । ती सबै खेलमा नेपाल विजयी रहेको थियो । त्यस अर्थमा नेपालका लागि यो खेल धेरै अर्थमा बिर्सनलायक रहनेछ । लिग चरणका तीनै खेलको समाप्तीमा नेपाल ४ अंकमा शीर्ष स्थानमा रह्यो । यस नतिजाका कारण भुटान प्रतियोगिताबाट बाहिरिएको छ भने लाओस फाइनल पुगेको छ । लाओसको ३ अंक भयो भने भुटान एकै अंकमा सीमित रह्यो ।

भुटानले १९ औं मिनेटमा अग्रता लिएको हो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले गोल गरे । अनमार्क रहेका तेन्जिङले ‘फ्रि हेडर’को मौका पाएका थिए र बल ‘प्वाइन्ट ब्ल्यान्क रेन्ज’बाट पोस्टमा छिरेको थियो । त्यस हेड प्रहारमा नेपाली गोलरक्षक किरण लिम्बूसामु कुनै अवसर रहेको थिएन् र उनी मुकदर्शकमात्र रहे ।

भुटानको खेल भने धेरै हदसम्म परिपक्व देखियो र तिनका खेलाडीबीच समन्वय पनि राम्रो देखिएको थियो । पूरा खेल अवधिमा नेपालको प्रदर्शन उल्लेखनीय रहेन सकेन र खोलडीबीच आपसी तालमेलको पनि स्पष्ट अभाव देखिएको थियो । त्यसमाथि टिमका प्रमुख खेलाडी अञ्जन विष्टले बोकेको चोट चिन्ताको विषय हुन सक्नेछ ।

अञ्जन ५१ औं मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य रहे । चोटकै कारण उनी लाओसविरुद्ध खेलेका पनि थिएनन् । खेलको अन्त्यतिर नेपालले केही दबाब सिर्जना गरे पनि त्यसको फाइदा लिन सकेन् । नेपालका लागि दीपकराजसिंह ठकुरी र मनीष डांगीले गोलको अवसर सिर्जना गरे पनि त्यो निर्णायक हुन सकेन ।