काठमाडौं- गायक एवं लेखक हिरण्य भोजपुरेलाई २०७९ सालको वासु शशी साहित्य सम्मान प्रदान गरिएको छ । कवि एवं नाटककार वासु शशीको ८७औं जन्मजयन्तीका अवसरमा मंगलबार आयोजित समारोहमा संस्कृतिविद् तुलसी दिवसले भोजपुरेलाई सम्मान गरेका थिए ।
समारोहमा कवि श्यामललाई वासु शशी साहित्य पुरस्कार र शशीका नाटकको नाट्यतत्त्व विषयमा विद्यावारिधि गरेका अनुसन्धाता गोपीकृष्ण खतिवडालाई वासुशशी शोध पुरस्कार प्रदान गरिएको थियो । यसमध्ये पुरस्कारको राशि २५ हजार र सोधका निम्ति २१ हजार रुपैयाँको सम्मान थैली पैदान गरिएको थियो ।
समारोहमा लेखक रमेश रेग्मीको ‘मेरो छोरा फर्किनै पर्छ’ कथासङ्ग्रहको विमोचन गरिएको थियो । वासु शशी स्मृति परिषद्का संरक्षक श्रीमती जुलुम वैद्यको उपस्थितिमा आयोजित समारोहमा परिषद् अध्यक्ष गणेश रसिक, कवि विश्वविमोहन श्रेष्ठ, सुमन वर्षा, प्रद्युम्न जोशीलगायतले मन्तव्य राखेका थिए ।
सम्मानित ८० वर्षीय स्रष्टा भोजपुरे ६ दशकयता गीत, कथा, उपन्यास लेखनमा सक्रिय छन् । पुरस्कृत प्रतीभा श्यामल करिब ३ दशकयता कविता लेखनमा सक्रिय छन् ।