रोबोटबाट गर्भवती भएकी महिलाले जन्माइन् दुई बच्चा

काठमाडौं- रोबोट मानिसको दैनिकीको साथी बन्ने होडमा छ । प्रविधि कम्पनीहरू हरेक दिन नयाँनयाँ फिचर भएका रोबोटको परीक्षण गरिरहेका छन् । मानिसको कामलाई सघाउन रोबोटको दायरा बढाउने क्रम जारी छ । यसैबीच मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले रोबोटको क्षमतालाई थप विस्तार गरेको छ ।

एमआईटीले हालै सार्वजनिक गरेको एक रिपोर्टमा एउटा यस्तो रोबोटको विषयमा जानकारी दिइएको छ, जसले महिलालाई गर्भवती हुन सघाएको थियो । स्पेनको बार्सिलोनामा सम्पन्न भएको यो प्रक्रियामा इन्जिनियर एडवार्ड अल्बाले शुक्रकिट कोशिकाहरू बोक्ने एउटा सानो आईभीएफ (IVF) इन्जेक्सन प्रयोग गरेर उक्त शुक्रकिटलाई महिलाको अण्डकोषमा जम्मा गरेका थिए । स्टार्टअप कम्पनी ओभरचर लाइफले सिर्जना गरेको यो नयाँ शैलीको फर्टिलाइजेसन रोबोटले महिलाहरूलाई सस्तो र अधिक पहुँचयोग्य तरिकामा इन-भिट्रो फर्टिलाइजेसन वा आईभीएफ प्रयोग गरी गर्भवती हुन सहयोग गर्नेछ ।

यस प्रक्रियामा महिलाको अण्डाशयबाट अण्डा झिक्ने र प्रयोगशालामा पुरुषको शुक्रकिटसँग निषेचन गर्ने काम हुन्छ । यो पहिलो पटक सफल भएको काम हो । यसले धेरै सन्तानविहीन अभिभावकलाई सहयोग गर्ने विश्वास लिइएको छ ।