भोजपुरको साल्पासिलिछो गाउँपालिकामा विशेषज्ञ डाक्टरबाट सेवा शुरु

भोजपुर-भोजपुरको दुर्गम मानिने सुदुर उत्तरी साल्पासिलिछो गाउँपालिकामा अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुवात भएको छ। बर्षौंदेखि स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गापाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा सुरु गरिएको हो।

स्थानीयलाई सहज स्वास्थ्य सेवा दिन आधारभूत स्वास्थ्य अस्पतालमा दरबन्दी कायम गरी वडा नं. २ कुलुङमा मेडिकल अधिकृत डाक्टर महमत बचरुद्दिन अन्सारीलाई खटाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए।

‘साल्पासिलिछो गापामा पहिलोपटक मेडिकल अधिकृतसहितको आधुनिक स्वास्थ्य प्रयोगशाला स्थापना गर्न सफल भएका छौँ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘खासगरी यहाँका बासिन्दाले भोग्दै आएको स्वास्थ्य उपचारको समस्यालाई ध्यानमा राखेर अथक प्रयासपछि सहज सेवा दिन सफल भएका छौँ।’

सहज यातायात नहुँदा यहाँका दुर्गम क्षेत्रका नागरिकलाई दुईदेखि तीन दिनसम्म स्ट्रेचर तथा डोकोमा बोकेर नजिक मानिने खाँदबारी अस्पताल लगिन्छ। विशेषज्ञ चिकित्सकसहितको आधुनिक प्रयोगशाला स्थापनाले सहजता भएको स्थानीय बासिन्दा कृष्णबहादुर तामाङले बताए।

‘विगतमा स्वास्थ्य उपचारका लागि निकै समस्या भोग्नुपरेको अवस्था थियो’, उनले भने, ‘बोकेर उपचारका लागि लैजाँदा कतिपयको बाटोमै अकालमा ज्यान गुमाएको अवस्था पनि छ। डाक्टरसहितको आधुनिक स्वास्थ्य सेवा पाउँदा धेरै खुसी लागेको छ। अब उपचार नपाएर मर्नुपर्ने अवस्था छैन। हामी धेरै खुसी छौँ।’

स्थानीयलाई सहज रूपमा स्वास्थ्य सेवा दिने लक्ष्यले विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा सुरुवात गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए।

स्वास्थ्य सुविधायुक्त उक्त प्रयोगशालाले गाउँपालिकावासीलाई स्वास्थ्य सेवा दिन सहज हुने उनको भनाइ छ। फार्मेसी सेवा शुरु हुने अध्यक्ष कुलुङको भनाइ छ। यहाँ एम्बुलेन्स सेवा विस्तार गर्दै पोष्टमार्टम र एक्सरे सेवा पनि तत्कालै सुचारु गर्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए।

अध्यक्ष कुलुङले भने, ‘स्थानीयवासीको सबैभन्दा ठूलो समस्यास्वास्थ्य उपचार हो। बाहिरका अस्पतालमा जानुपर्ने अवस्था छ। मेहनतपछि विशेषज्ञसहितको प्रयोगशाला सञ्चालन गर्न सफल भएका छौँ। यो गाउँपालिकावासीका लागि निकै खुसीको कुरा हो।’

प्रयोगशालालाई थप व्यवस्थित बनाउँदै लैजाने अध्यक्ष कुलुङको भनाइ छ। गाउँपालिकामा ११ वटा अक्सिजन सिलिन्डर र करिब ६ वटा अक्सिजन कन्सेन्टेटर रहेको उनको भनाइ छ। आवश्यक अन्य सुविधा थप्ने लक्ष्य रहेको अध्यक्ष कुलुङले बताए।

‘यहाँ अझै सेवा सुविधा थप्ने हाम्रो उद्देश्य छ’, उनले भने, ‘स्वास्थ्य उपचारका लागि बाहिर जानु नपरोस् भन्ने लक्ष्य लिएका छौँ।’
यो आर्थिक वर्षमा गापाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित यहाँका दुर्गम तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सञ्चालनमा ल्याएको छ।

गापाले सडकसम्म विस्तार नभएको ओखरबोटे र याङ्माका स्थानीयलाई लक्षित गरेर वडा नं। ६ याङमा र थुम्लुङमा स्वास्थ्य एकाइ स्थापना गरेको छ। त्यस्तै वडा नं ३ को तालखर्कमा पनि स्वास्थ्य एकाइ स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष अस्मिता राईले बताइन्। एकाइ स्थापना गरेर तीनवटै ठाउँबाट सेवा प्रवाह भइरहेको उनको भनाइ छ।

सामान्य स्वास्थ्य सेवा लिन भोजपुर संखुवासभाको खाँदबारी तथा तराईका जिल्लामा जानुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष गणेश खत्रीले जानकारी दिए।