
काठमाडौँ — ल्हारक्याल लामाको विवादास्पद छवि अपरम्पार छ । दोहोरो नागरिकता, भारतीय रासनकार्डरराहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए । तर देशमा उनीजस्तो ‘प्रतिभा’ अरू कोही नपाएजस्तै गरी सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले लामालाई नियुक्ति दिएको हो । यसै सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँगको कुराकानी :
लुम्बिनी विकास कोषजस्तो गरिमामय संस्थामा ल्हारक्याल लामाजस्ता अत्यन्तै विवादास्पद पात्रलाई उपाध्यक्षका रूपमा नियुक्त गर्नुभयो, यस्तो बाध्यता किन आइलाग्यो ?
के गर्नु अब, उहाँ अर्थराज्यमन्त्री भइसकेको व्यक्ति । विवाद भए पनि सबै आरोपमा अदालतबाट छुट पाइसकेको । सम्पत्ति शुद्धीकरणदेखि अख्तियार, सर्वोच्चबाट क्लिन चिट पाइसकेको । त्यस्तो व्यक्तिलाई नियुक्ति दिनुमा अन्यथा केही भएन । उहाँमाथि त्यस्तो कुनै प्रश्न छैन ।
झलनाथ खनाल नेतृत्वको सरकारमा हुँदा दोहोरो नागरिकता लिएको प्रश्न उठेपछि उनले दुई सातामै राजीनामा दिएका थिए । तपाईंलाई त्यो घटनाक्रम सम्झना छ ?
मै पनि थिएँ नि संविधानसभामा । सम्झना नहुने कुरा भयो र १ आरोप लागेको थियो, तर पछि बहाल हुनुभयो नि ।
मन्त्रीमा बहाल भएको त होइन नि ।
नेपालको संविधानसभाको सदस्यमा बहाल भएकाले उहाँको योग्यता पुगेको हो । सबै निकायले क्लिन चिट दिइसकेका हुनाले अहिले चैं अब त्यो प्रश्न उठाउन मिल्दैन । फेरि पनि प्रश्न आएछ भने त सुदन किराती पनि जान्छ नि ।
ल्हारक्याल लामाको दोहोरो नागरिकताको विषयमा कुनै न्यायिक निकायले सफाइ दिएको होइन । उनले राज्यमन्त्रीबाट राजीनामा दिएपछि छानबिन आयोग गठन गरिएको थियो । तर राहदानी, तिव्बती परिचयपत्र, भारतको रासनकार्डलगायतका विषयमा सरकारले सहयोग नगरेको भनेर आयोगकै पदाधिकारीले भनेका थिए नि, अनुसन्धान नै नभएपछि दोष कसरी सावित हुन्छ र ?
त्यस्तै शंका लाग्छ भने सरकारका निकायहरू छन्, फेरि छानबिन गर्लान् नि त । विषय उठेछन् भने । दोषी प्रमाणित भएछ भने कसरी छुट पाइन्छ त ।
छानबिन गर्ने ठाउँमा तपाईंहरू हुनुहुन्छ । अरू कसले हो र छानबिन गर्ने ?
त्यसरी कहाँ हुन्छ ? हामीले प्रभावित गर्ने कुरा हुँदैन । अधिकार प्राप्त संस्थाहरू छन् ।
उनले बैंकको लकरमा बन्दुकका १४ थान गोली राखेको भेटिएको थियो । बैंकको लकरमा गोली राख्ने मान्छे बुद्धधर्मी संस्थाको नेतृत्वमा बस्न मिल्छ र? शान्तिको दूत बन्न मिल्छ रु तपाईंले अरू कोही भेट्नुभएन रु
गोली मेरो आँखाले देखिनँ । राज्यका निकायले क्लिन चिट दिइसकेपछि । मेरो अगाडि के रह्यो र बाँकी ।
पक्राउ नै पर्नुभएको थियो, त्यो देख्नुभएको थिएन र ?
राज्यले सफाइ दिइसकेको छ क्या ।
अनि मकाउ पठाइदिने भन्दै विभिन्न युवाहरूबाट पैसा लिई ठगी गरेको आरोपमा प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । यो आरोपमा पनि उनी पक्राउ परे । ३० लाख धरौटीमा छुटे । यस्ता व्यक्तिले लुम्बिनीको गरिमा बोक्न सक्छन् ?
अहिले उहाँलाई कुनै पनि फौजदारी अभियोग छैन । राज्यका कुनै पनि निकायमा फौजदारी अभियोग छैन । उहाँ हाम्रो पार्टीको केन्द्रीय सदस्य । सबै योग्यता पुग्ने भएको हुनाले, त्यही समुदायको माग पनि त्यही भएको हुनाले नेपाल सरकारले उहाँलाई नियुक्त गरेको छ । अरू कुरा आइलागे बेहोरौंला न ।
त्यस्तो सांस्कृतिक संस्थामा तपाईंको पार्टीको नेता हुनु नै योग्यता हो रु लुम्बिनी जस्तो पवित्र क्षेत्रको विकास गर्ने संस्थाको नेतृत्वमा जाने व्यक्तिको छवि सफा हुनुपर्छ कि पर्दैन ?
हुन्छ नि किन हुँदैन । नेपाल सरकारका जिम्मेवार निकायले निर्दोष छ भनेर प्रमाणित गरिसके पछाडि फेरि अर्को प्रश्न उठाइराख्नु भनेको त नियोजित हुँदैन र ?
अनि, यो नियुक्ति त्यति स्वाभाविक हो भने मन्त्रिपरिषद्मा किन छलफल भएन रु कान्तिपुरको सम्पर्कमा आएका केही मन्त्रीहरूले त यो विषयमा मन्त्रिपरिषद्मा छलफल नै नभएको भनेका छन् । बैठक छलेर निर्णय गरिएको हो रु
नेपालको कार्यकारी भनेको प्रधानमन्त्री हो । उपप्रधानमन्त्रीहरूसँग छलफल गरेर, मुख्यसचिवसँग छलफल गरेर टुंग्याउँछु भन्नुभएको थियो प्रधानमन्त्रीले ।
भ्रष्टाचार नियन्त्रणमा तपाईंको पार्टी, प्रधानमन्त्री र मन्त्रीहरूले प्रतिबद्धता व्यक्त गर्ने र ल्हारक्याल लामाजस्ता व्यक्तिलाई नियुक्ति दिने, माओवादीले यो के गरेको हो ?
त्यस्तो केही होइन । भोलि त्यस्तो प्रमाणित भएमा राज्यले कानुनको दायरामा ल्याउँछ । काम गर्दाखेरि कहिले–कहिले गल्ती हुन्छ । गल्ती भएछ भने त्यो बेला माफी मागौंला । चिन्ता नगर्नु न ।
यो नियुक्तिमा करोडौंको लेनदेन भयो भनिएको छ नि रु लुम्बिनीका नाममा यस्तो चलखेल ?
मलाई थाहा छैन । उहाँ पार्टीको केन्द्रीय सदस्य हो । त्यस्तो चलखेल गर्ने कुरै हुँदैन ।
तपाईंलाई लाग्छ कि तपाईंहरूले नियुक्त गरेका व्यक्तिले लुम्बिनीको नेतृत्व गर्न सक्छन् रु शान्तिको सन्देश फैलाउन सक्छन् ?
शान्तिको सन्देश त काम गर्दै गएपछि फैलाउने नि त । अहिले त कसरी भन्ने त रु बुद्धले पनि सुरुमा त शान्तिको सन्देश फैलाउन सक्थे कि सक्दैनथे, थाहै थिएन नि, होइन र रु पछि कर्मले फैलाएको होइन र रु
तपाईं विश्वस्त हुनुहुन्छ ?
अब के गर्ने, मन्त्रिपरिषद्ले गरेको कुरा हो । मन्त्रिपरिषद्को सदस्य परें म । मन्त्रिपरिषद्ले नै गरिसकेपछि म विश्वस्त नभई हुन्छ त ।
सिफारिसकर्ता त तपाईं हो नि ?
हो । सिफारिसकर्ता त सम्बन्धित मन्त्रालय हुन्छ ।
कान्तिपुरवाट