समाज सेवासँगै तरकारी खेतीमा रमाएका वडाध्यक्ष

तपाई हामी अहिले गाउँ ठाउँकै वडाध्यक्षले के गर्छन ? भनेर मन मनै सोच्दा पनि उत्तर आउने गर्छ मोटरसाईकलमा हुँईकिने सधैं बैठक र अन्य योजनाका काममा व्यस्त रहने उत्तर हाम्रो मनमा आउने गर्दछ । वास्तवमा पनि त्यस्तै देखिने गरेको छ । हाम्रो समाजमा वडाध्यक्षहरुलाई सुविधा भोगी भएको भन्ने आरोप सामान्य भईसकेको छ ।

तर खोटाङको रावाबेँसी गाउँपालिका २ खार्पाका वडाध्यक्ष डोलराज बस्नेतको भने दिन चर्या फरक छ । उनि साग र तरकारी बोकेर पसल पसलमा पुर्याइरहेका भेटिन्छन् । आफ्नो मेहनतले उत्पादन गरेको तरकारी बिक्री गर्न गाउँपालिकाको केन्द्र हरमटारदेखि रभुँवा बजारसम्म पुर्याउँछन् उनी । उनलाई कतिपयले वडाध्यक्ष भएर के तरकारी बोकेर हिँडिराख्या ? भन्दै कुरा काट्छन् । तर उनी त्यसको कुनै परवाह गर्दैनन् । म भाँडा माझ्न पनि तयार हुन्छु ।

मलाई काम गर्न कुनै शरम छैन, वडाध्यक्ष बस्नेत भन्छन्, मलाई ठूलो हुनुछैन । जस्तो छु, त्यस्तैमा रमाउने मान्छे हुँ । व्यवसायीक रुपमा कृषि खेती गर्दैआएका बस्नेत २०७४ सालको स्थानीय तहमा वडा सदस्य र २०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले रावा खोला किनारमा भाडामा लिएको खेतमा बन्दा, गोलभेँडा, ब्रोकाउली, तितेफापर, प्याज, लुसन, आलु, धनियाँ लगायतका तरकारी लगाउँदै आएका छन् ।२०३३ सालदेखि भाडामा लिइएको दिव्यप्रसाद पोखरल र नारायणप्रसाद राइटरको भाडामा लिइएको २० रोपनी खेतमा बस्नेतले १२ बर्ष अघिदेखि तरकारी खेती सुरु गरेको बताउँछन् । रोजगारीका सिलसिलामा परदेशमा पाँच वर्षभन्दा बढि समय पसिना बगाएका बस्नेतले घर फर्किएपछि आफ्नै गाउँमा बाख्रा पालन र तरकारी खेती सुरु गरेका हुन् ।

कृषि कर्मबाट बालबच्चाको पढाई खर्च र घर खर्च गरेर वार्षिक एक लाखको हाराहारीमा बचत हुने गरेको बस्नेतले बताए । बिदेशबाट घर फर्किएपछि सुरुमा बाख्रा पालन सुरु गरेका बस्नेतले काउली रोपेर क्रमशः तरकारी खेतीमा हात हालेका हुन् । मलेसिया रहेकोबेला उनले काउलीको तरकारी स्वाद लिएका थिए । घरबाट नुन बोक्न उदयपुरको घुर्मी पुगेकोबेला पनि काउलीको तरकारी चाख्न पाएका थिए ।

काम विशेषले दिक्तेल पुगेकोबेला काउलीको पाँच बोट बिरुवा भेटे, किनेर घर लगे । बाँचेका तीन बोटमध्ये एउटै बोटमा अढाई केजीको काउली फलेपछि उनी यसको खेती विस्तार गर्न हौसिएका हुन् ।छ वडा रहेको रावाबेँसी गाउँपालिकाभित्र कहलिएका किसान हुन् डोलराज । गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमै उनले उत्कृष्ट किसानका रुपमा पुरस्कार जितिसकेका छन् ।बस्नेतले वार्षिक रुपमा काउली सरदर छ सय केजी, गोलभेँडा डेढ सय केजी, प्याज साँढे तीन सय केजी, बन्दा चार सय केजी र लसुन दुई सय केजी फलाउँछन् ।

तिते फापर वार्षिक १० मुरी फलाउँछन् । बस्नेतले उत्पादित कृषि उपज गाउँपालिकाको केन्द्र हरमटार, रभुँवा बजारमा पुर्याउने गरेका छन् । होटल तथा पसलमा फोन सम्पर्क गरेर आवश्यक मात्रामा तरकारी पुर्याउने गरेको बस्नेतले बताए ।