भारतमा पदक दिलाउने भोजपुरका तेक्वान्दो खेलाडीलाई भव्य स्वागत (फोटो फिचर)

भोजपुर– सातौं दक्षिण एसियाली आई.टि.एफ च्याम्पिएनसिप प्रतियोगितामा देशको लागि स्वर्ण सहित चार पदक दिलाउने भोजपुरका दुई खेलाडीलाई जिल्लामा स्वागत गरिएको छ । पदक जितेर भोजपुर आईपुगेका खेलाडीहरु विर वहादुर तामाङ र सजिना तामाङलाई जिल्ला आई.टि.एफ तेक्वान्दोको आयोजनामा षडानन्द नगरपालिकाका जनप्रतिनिधि, जिल्ला खेलकुद विकास समिति भोजपुर,आफन्त, संघ संस्था, स्थानिय वासिन्दाको सहभागितामा खेलाडीहरुलाई र्‍याली सहित दिंला बजार परिक्रमा गराएर स्वागत तथा सम्मान गरेकाहुन ।

भारतको हैदराबादमा अगष्ट ४ देखि ६ सम्म सञ्चालन भएको दक्षिण एसियाली च्याम्पिएनसिप प्रतियोगितामा भोजपुरका वीर बहादुर तामाङ र सजिना तामाङले देशको लागि एक स्वर्ण सहित ४ पदक दिलाएका थिए । प्रतियोगितामा सजिना तामाङले ग्रुप स्पाईरिङ तर्फ स्वर्ण पदक, एकल स्पाईरिङ तर्फ रजत पदक र एकल प्याटन तर्फ कास्य पदक र वीर बहादुर तामाङले एकल स्पाईरिङ तर्फ कास्य पदक गरि जम्मा चार पदक नेपालको लागि दिलाएका थिए ।

खेलकुदमा स्थानीय तहहरुले बजेट विनियोजनमा उदाशिनताको कारण खेलकुद पछि परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले विचार व्यक्त गरे । प्रत्येक स्थानीय तहले पालिका भित्र भईरहेको खेलकुदलाई मध्यनजर गरेर खेलकुदको विकासमा ध्यान दिनुपर्ने शेर्पाको भनाई छ ।

विभिन्न समस्या र वाध्यताका कारणले चाहेजति खेलकुदमा विकास गर्न सकिएको नसकिएको तर यसलाई विस्तारै योजनावद्ध ढंगले विकास गर्दै लैजाने नगरपालिकाकी उपप्रमुख प्रमिला राईले बताईन् । यता नगरप्रमुख सुरेन्द्र कुमार उदासले भने भएको कुरालाई भएको र गल्ति भएकोमा खुल्ला मनले गलत हो भनेर भनिदिन आग्रह गरेका छन् । खेलकुदमा भने जति चाहेजति विकास गर्न नसकेपनि खेलाडी उत्पादन तर्फ ध्यान दिईरहेको मेयर उदासले बताएका छन् । आगामी बर्षहरुमा अझ बृहत योजना सहित खेलकुदलाई अगाडी बढाईने समेत मेयर उदासको धारणा छ।