जोगियो सुदन किरातीको मन्त्री पद, जनमतबाट साह मन्त्री बन्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । उनको ठाउँमा जनमत पार्टीबाट अनिता कुमार साह मन्त्री बन्ने भएकी छन् ।

माओवादी केन्द्रले आफ्नो कोटाको मन्त्री पदमा जनमतलाई दिन लागेको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी

पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाएर सो ठाउँमा जनमतबाट साहलाई मन्त्री बनाउने निर्णय गरेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार अर्का मन्त्री सुदन किरातीलाई समेत फिर्ता बोलाउने चर्चा भएपनि तत्काललाई कुनै निर्णय भएन । ती पदाधिकारीले भने, ‘अमनलाल मोदीजीलाई फिर्ता बोलाउने निर्णय गरेको छु भनेर प्रधानमन्त्रीले भन्नुभयो । अनुमोदन गरौँ भनेपछि अनुमोदन गरियो’, ती पदाधिकारीले भने ।

तर, किरातीको विषयमा भने सामान्य छलफल भएपनि उनलाई हटाउने निर्णय नभएको उनले स्पष्ट पारे । यससँगै मन्त्रीबाट बिदा हुन तयार भइसकेका किरातीको पद जोगिएको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका थिए । रातोपाटीसँग कुरा गर्दै किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।

‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनको भनाइ थियो, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाऊ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’

अब प्रधानमन्त्रीको सिफारिसको आधारमा जनमतकी साह राष्ट्रपतिबाट नियुक्त हुन्छिन् । यससँगै एक पटक सरकारबाट बाहिरिएको जनमतको फेरि सत्तामा प्रवेश निश्चित भएको छ ।