षडानन्द नगरपालिका- ७ मा शैक्षिक गुणस्तर सुधारका निमित्त अन्तरक्रिया

दिंला- भोजपुरको उत्तरी षडानन्द नगरपालिका ७ ले शैक्षिक गुणस्तर सुधारका निमित्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । वडाका जनप्रतिनिधि, विव्यस अध्यक्ष, प्रधानाध्यापक,अभिभावक सहितको अन्तरक्रिया कार्यक्रम वडाले आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित विद्यालयका प्रधानाध्यापकहरुले विभिन्न समस्याका कारण चाहेजस्तो गुणस्तर सरकारी विद्यालयमा दिन नसकिएको गुनासो राखेका छन् । उपस्थित प्रअहरुले अभिभावक चेतना कमीभएको, पाठ्यक्रम परिवर्तन भएपछि पुनर्ताजगी तालिम नभएको, शिक्षक सरुवा भएर समयमा पदपुर्ति नहुँदा शिक्षण सिकाईमा समस्या भएको, शैक्षिक सामाग्री पर्याप्त नभएको , खानेपानीको समस्या भएको, शिक्षक दरवन्दी कम भएको जस्ता समस्या वडाध्यक्ष दिपेश विष्ट समक्ष राखेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष दिपेश विष्टले समस्यालाई सतहमा ल्याएर र जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीले एक अर्कामा आरोप लगाएर मात्र शैक्षिक गुणस्तर सुधार नहुने तर्क प्रस्तुत गरे । उनले विद्यालयका प्रधानाध्यापकहरुलाई उपलव्ध स्रोत साधनको उच्चतम उपयोग गर्दै शैक्षिक सुधारमा लाग्न निर्देशन दिए । वडाले शैक्षिक सुधारका निमित्त गत बर्षदेखिनै २० प्रतिशत बजेट विनियोजन गरेको पनि दावि गरे । वडाले शैक्षिक गुणस्तर वृद्धिको निमित्त आफ्नो अधिकार क्षेत्रभित्र रहेरका उच्चतम अधिकार समेत प्रयोग गरेर अघिवढ्ने उनले वताए ।

अन्तरक्रिया कार्यक्रमवाट शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयमा अनिवार्य तोकिएको पोशाक, शिक्षकले अनिवार्य पाठयोजना सहित कक्षामा प्रवेश गर्नुपर्ने, गृहकार्यमा अनिवार्य अभिभावकको हस्ताक्षर हुनुपर्ने,बाल शिक्षकले अनिवार्य १० देखि ४ बजे सम्म पठनपाठन गर्नुपर्ने, निवेदन दिएर शैक्षिक क्रियाकलापमा असर नपर्ने गरि विदा स्विक्रित गराउनुपर्ने लगायतका निर्णय भएको वडाध्यक्ष विष्टले जानकारि दिए ।

षडानन्द नगरपालिकाको वडा नम्वर ७ नगरकै शैक्षिक हवको रुपमा रहेको छ । यस वडामा नगरको एकमात्र बहुमुखी क्यम्पस, अरुण र षडानन्द मावि का साथै नगरको एक मात्र माध्यमिक तह सम्म पठन पाठन हुने न्युसमिट बोर्डिंग समेत र रहेको छ ।