सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको बुम्लिङ्टार स्थित निर्माणहुने भनिएको ‘छब्बीसे’ मोटरेवल पुल शिलान्यास भएको ४ बर्ष सम्म पुल निर्माणको काम शुरु नभएपछि गाउँपालिकाको चासो दिएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका र संखुवासभाको सिलीचोङ गाउँपालिकाकाको विशेष पहलमा स्थानीय पुर्वाधार विभाग ललितपुरमा पुल निर्माण विषयमा सरोकारवालाहरुविच छलफल भएको हो ।
विभागका महानिर्देशक भरत प्रसाद अर्यालको अध्यक्षातामा भएको कार्यक्रममा सिलीचोङ गाउँपालिकाका अध्यक्ष भुपाल मेवाहाङ र साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।
साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङले पुल नबन्दा स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्नु परेको र पटकपटक सुत्केरी महिलाको ज्यान समेत गुमाउनु परेको बताउँदै जुनसुकै हालतमा पनि पुल बन्नुपर्नेमा जोड दिए । बारम्बार ताकेता गर्दासमेत पुल निर्माण कार्य अगाडि नबढेको उनको गुनासो थियो । यता ठेकेदार कम्पनीले भने पुरानो सम्झौता अनुसार पुल निर्माण गर्न नसकिने र वैकल्पिक डिजाइन गरेर मात्रै निर्माण गर्न सकिने धारणा राखेको छ ।
छलफलपछि विभाग, जनप्रतिनिधि र ठेकेदार कम्पनीको त्रिपक्षीय सम्झौता अनुसार ठेकेदार कम्पनीले आगामी भाद्र मसान्तसम्ममा वैकल्पिक डिजाइन विभागमा पेश गरी पुल निर्माण कार्य अगाडि बढाउने सहमति भएको छ ।
सहमति पत्रमा वैकल्पिक डिजाइनको अवधारणा २०८० भाद्र मसान्तसम्म सम्पन्न गरी विभागमा पेश गरिसक्नुपर्ने , भाद्र मसान्तसम्म डिजाइन पुनरावलोकनबाट वैकल्पिक डिजाइनमा जान सकिने भएमा कार्तिक मसान्तभित्र वैकल्पिक डिजाइनबाट सम्पन्न गरी विभागमा पेश गर्ने, उक्त अवधिमा निर्माण व्यवसायीबाट भएको कुनै पनि खर्च निर्माण व्यवसायीले नै बेहोर्ने, मृत सञ्जीवनी निर्माण सेवा प्रालिले निर्माण कार्यको पूर्ण जिम्मेवारी निभाउने उल्लेख गरिएको छ ।
सहमति अनुसार तोकिएको समयमा सम्पन्न नभए नियमानुसार अगाडिको कारबाही बढाउन यो निर्णयले कुनै बाधा नपर्ने पनि सहमति भएको छ । आगामी पौष २१ मा निर्माण गरिसकिने भनिएको मोटरवल पुल ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।