काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका आङ्गिक क्याम्पसहरूले शुल्क नबढे इन्जिनियरिङ कार्यक्रम नै खारेजीको अवस्थामा आउनसक्ने चेतावनी दिएका छन् । आङ्गिक क्याम्पसहरूको नाजुक आर्थिक अवस्था रहेकाले सर्वपक्षीय वार्ता र छलफलमार्फत उत्पन्न असहज परिस्थितिको समाधान खोज्न ती क्याम्पसका प्रमुखहरूले सार्वजनिक अपिल गरेका छन् ।
आइतबार पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस पोखरा र पूर्वाञ्चल क्याम्पस धरान गरी चार आङ्गिक क्याम्पसका प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गरी शुल्क वृद्धिपछि उत्पन्न परिस्थितिको समाधान खोज्न अनुरोध गरेका हुन् ।
“२५ वर्षअघि पूर्ण शुल्कीय कार्य्रकम सुरु गर्दै प्रत्येक नयाँ भर्नामा १० प्रतिशत वृद्धि गर्ने नीतिगत व्यवस्था गरेता पनि कार्यान्वयन हुन सकेन । नियमित कार्यक्रममा सरकारी अनुदान सीमित भएसँगै पूर्ण शुल्कीय कार्यक्रमको आम्दानीबाट नियमित कार्यक्रम पनि चलाउने नीति अवलम्बन भयो । तर २५ वर्षदेखि शुल्क समायोजन नहुँदा नियमिततर्फ मात्र होइन, पूर्ण शुल्कीय कार्यक्रममा समेत अनुदानको आवश्यकता देखियो,” विज्ञप्तिमा भनिएको छ ।
पूर्ण शुल्कीय कार्यक्रममा अनुदान सम्भव नभएकाले नियमित कार्यक्रमहरूमा सरकारी अनुदान बढाउन सम्बन्धित सबै पक्षले पहल गर्नुपर्ने क्याम्पस प्रमुखहरूले जनाएका छन् । साथै शुल्क समायोजन नभएको खण्डमा पूर्ण शुल्कीय कार्यक्रम सञ्चालन गर्न असमर्थ भई यो कार्यक्रम नै खारेज हुनसक्ने अवस्थालाई सबैले मनन गर्न उनीहरूले आग्रह गरेका छन् ।
त्यस्तै आङ्गिक क्याम्पसका प्रमुखहरूले क्याम्पसहरूलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न सामूहिक जिम्मेवारी वहन गर्नसमेत अपिल गरेका छन् ।
यसै शैक्षिक सत्रबाट लागू हुने गरी आईओईले बीईरबीआर्कको शुल्क बढाएको छ । जसको खारेजी माग राख्दै विभिन्न विद्यार्थी संगठनहरू आङ्गिक क्याम्पसमा प्रदर्शनरत छन् ।