लेनदेनमा विवाद हुँदा ईटहरीकी महिलाको धरानमा हत्या, शव फाल्न जाँदा परे प्रहरीको फन्दामा

इटहरी उपमहानगरपालिकाकी यशोदा श्रेष्ठको धरानमा हत्या भएको छ । ४४ वर्षीया श्रेष्ठको शव हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको हो ।

हत्यामा संलग्न रामेछाप घर भई सुनसरीको धरान- १७ मा बस्दै आएका टेकबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

दर्जीले यशोदाको हत्या गरी शव जंगलमा फाल्न लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यशोदा बुधबार माइत जान्छु भनेर इटहरी घरबाट हिँडेकी थिइन । यशोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ ।