संविधानको धारा १६८(३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुन लागेका हिक्मतकुमार कार्कीले आजै पाँच सदस्य मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
कार्कीलाई केही बेरमा कोशी प्रदेश प्रमुख परशुराम कार्कीले मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहको छ । नियुक्ति लगत्तै शपथग्रहण गरेपछि पाँच सदस्य मन्त्रिपरिषद् गठन गर्ने एमालेका प्रमुख सचेतक रेवतीरवण भण्डारीले जानकारी दिए ।
भण्डारीले एमालेबाट सुरुमा मन्त्री बन्नेको पनि टुंगो लागिसको जानकारी दिए । जसअनुसार कार्कीसहित तीलकुमार मिन्याङ्बो ऊर्जा तथा सिँचाइ मन्त्री, एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री, पाँचकर्ण राई वनमन्त्रीमा नियुक्त हुनेछन् । यसैगरी सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त हुन लागेको उनले जानकारी दिए ।
बिहीबार सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको सरकारलाई अवैधानिक ठहर गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कार्की दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।