
काठमाडौं । मंगलबार विहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फोटो नदेखिने समस्या आएको छ । मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाले त्यस्तो समस्या आइरहेको हुनसक्ने डेभलपरहरूले अनुमान गरेका छन् ।
विशेषगरी कुनै पनि लिङ्क डिबग गर्दा त्यसमा ‘अननोन इमेज इन्काउन्टर’को समस्या देखाइरहेको छ । सम्भवतः मेटाकै तर्फबाट नेपाल, भारत लगायतका देशमा यस्तो समस्या आएको हुनसक्ने आशंका गरिएको छ । तर कुनै कुनै वेबसाइटका लिंकहरूमा भने यस्तो समस्या देखिएको छैन ।
फेसबुकमा लिङ्क शेयर गर्दा केही मिडियाको विज्ञापनको फोटो फिचर फोटोको रूपमा तानिरहेको छ भने केहीमा हेडरमा राखेको फोटो (लोगो) तानिरहेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्मका लिङ्क शेयर गर्दा पनि त्यस्तै समस्या देखिरहेको छ । केहीमा भने फोटो नदेखिने, लिङ्क मात्र देखिने समस्या छ । यस्तो हुनुको वास्तविक कारण बाहिरिएको छैन ।
त्यस्तै मेटाले पनि आधिकारिक रूपमा यस्तो समस्या हुनुको कारण खुलाएको छैन । फेसबुक सपोर्टमा कुरा गर्दा सिस्टम अपडेट भइरहेको प्रतिक्रिया पाएको एक डेभलपरले सुनाए।