इटहरीमा विद्यालय वरपर बेचबिखनमा राखिएका सूर्तीजन्य पदार्थ जफत

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालय वरपर सूर्तीजन्य र मादकपदार्थ बिक्री वितरणमा कडाइ गरिएको छ । बजार अनुगमन गर्दै विद्यालय क्षेत्र वरपर सूर्तीजन्य र मादकपदार्थ बिक्री वितरण गर्नेलाई कारबाही थालिएको हो ।

अनुगमनका क्रममा विद्यालय वरिपरि बिक्रीको लागि राखिएको सूर्तीजन्य पदार्थ उपमहानगरको अनुगमन टोलीले जफत गरेको छ ।

विद्यालय वरपर खुलेआम सूर्तीजन्य र मादकपदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि उपमहानगरपालिकाले अनुगमन गर्दै कडाइ गरेको जनाएको छ । विद्यालय वरपर रहेका पसलहरुमा सूर्तीजन्य पदार्थ भए नभएको बारेमा कर्मचारीले निरन्तर अनुगमन गर्ने उपमहानगरले जनाएको छ ।

विद्यालय क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सूर्तीजन्य पदार्थ तथा मदिरा नराख्न उपमहानगरपालिकाले सबैमा आग्रह गरेको छ। उपमहानगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने मेयर हेम कर्ण पौडेलले बताए ।

विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सूर्ती, गुट्खालगायत नियन्त्रणमा लिनुका साथै मादकपदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ ।