युवा सङ्घ र दुर्गा प्रसाईँको कार्यक्रमलाई लक्षित गरि सुरक्षा व्यवस्थामा कडाई

काठमाण्डौमा बिहीवार राष्ट्रिय युवा सङ्घ, नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको अभियानले गर्न लागेका दुई फरक कार्यक्रमलाई ध्यानमा राखी “विशेष सुरक्षा सतर्कता” अपनाइएको स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले बताएका छन्।

सो क्रममा ठाउँठाउँमा प्रहरी गस्तीदेखि उपत्यका प्रवेश गरिने नाकाहरूमा सुरक्षा जाँच पनि बढाइएको काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारीले बताए।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रमुख प्रतिपक्षी नेकपा एमालको भातृ सङ्गठन युवा सङ्घको सभाका लागि तीनकुने ठाउँ तोकेको छ भने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाभियान’को कार्यक्रमका लागि बल्खु निर्धारण गरेको छ।

कार्यक्रमको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय काठमाण्डू र ललितपुरले विभिन्न स्थानलाई निषेधित क्षेत्र पनि घोषणा गरेका छन्। अप्रिय घटना हुन सक्ने आशङ्काबीच राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षले गर्ने कार्यक्रमको निरीक्षण गर्ने जनाएको छ।

सम्भावित परिस्थितिको आकलन गरेर निगरानी बढाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कठायत बताउँछन्।

“आवश्यकताको पहिचान र प्राप्त सूचनाका आधारमा हामीले सुरक्षा परिचालन गरेका छौँ,” उनले भने।

दुवै पक्षका लागि छुट्टाछुट्टै कार्यक्रमस्थल तोकिएको र एकअर्कादेखि टाढा रहेकाले झडप नहुन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ।

“तथापि केही परिहाल्यो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय तयारी अवस्थामा छन्,” कडायतले थपे।

उपत्यकाका तीनवटै जिल्लाका सुरक्षा निकाय बसेर छलफल गरी सुरक्षा निगरानी बढाइएको काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।

“तीनवटै जिल्ला काठमाण्डू, ललितपुर र भक्तपुरेका सुरक्षा निकायसँग छलफल गरी सुरक्षा निगरानी बढाउने निर्णय गरेका छौँ र त्यो कार्यान्वयनमा आइसकेको छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

प्रदर्शनकारीको आवरणमा “गलत तत्त्वले प्रवेश गरेर अप्रिय घटना गराउन सक्ने” सम्भावनाबारे पनि सजगता अपनाइएको आचार्यले बताए।

“हातहतियार वा अरू अवैध वस्तु ओसारपसार हुन सक्ने भएकाले यो प्रदर्शनलाई ध्यानमा राखी प्रवेशबिन्दुमा नियमितभन्दा बढी सजगता बढाएका छौँ,” उनले भने।

“प्रदर्शनकारीको आवरणमा गलत तत्त्व पनि आउन सक्छन् भन्ने सूचनाका आधारमा त्यसो गरिएको हो।”

धेरै मानिस हुन सक्ने आकलनकै आधारमा एउटा पक्षलाई तीनकुने र अर्को पक्षलाई बल्खुमा कार्यक्रम गर्न भनिएको आचार्य बताउँछन्।

“कार्यक्रमस्थल र आसपास क्षेत्रमा गस्तीका लागि सुरक्षाकर्मी परिचलान गरेका छौँ र निगरानी एकदमै बढाएका छौँ,” उनले थपे।