गुणस्तरीय शिक्षा प्रवर्द्धनमा यु डब्लु एस नेपाल र स्थानीय तहबिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

संखुवासभा, युडब्लुएस नेपाल सङ्खुवासभा सहित ३ जिल्लाका ७६ विद्यालयमा लगानी गरेको जनाएको छ । उसले ७६ विद्यालयमा ५ सय ९ वटा कक्षा कोठा निर्माण गरिसकेको छ । जसका कारण १३ हजार ९ सय २८ विद्यार्थीलाई प्रत्यक्ष फाईदा पुगेको दाबी गरेको छ ।

जिल्ला समन्वय समितिको सभाहल,खाँदबारीमा शनिबार आयोजित स्थानीयका सरोकारवालाहरको छलफलमा सङ्‌खुवासभाका १० मध्ये ९ पालिकाका ४९ विद्यालयमा गुणस्तरीय शिक्षा प्रबर्द्धनका कार्यक्रम लागू गरेको जानकारी दिएको छ । कार्यक्रममा जिल्लाका सथानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । उक्त्त कार्यक्रममा मकालु गाउपलिका उपाध्यक्ष मनकला राईले युडब्लुएसले गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा स्थानीय सरकारको तर्फबाट गर्नु पर्ने सहयोगका लागि तयार रहेको बताइन भने खादबारी नगरपालिका प्रमुख महेश थपलियाले गुणस्तरीय शिक्षाको अभाबमा सामुदायिक विद्यालयमा दिनानुदिन विद्यार्थीहरु घड्दो क्रममा रहेको र विद्यालयहरु मर्ज हुदै गहिरहेको अवस्थामा युडब्लुएस नेपालले खाँदबारी नगरपालिकाका ३ वटा विद्यालयहरु निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा धन्यबाद ज्ञापन गर्दै आगामी दिन मा स्थानीय सरकारको निरन्तर सहयोग रहने बताएका थिए ।

संखुवासभा बाहेक गुल्मीमा १८ र ताप्लेजुङका ५ विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ ।

आगामी बर्ष भोजपुर, हुम्ला, धनकुटा र तनहुँ जिल्लामा पनि यो कार्यक्रम अघि बढाईने युनाइटेड वर्ल्ड स्कुल्सका अध्यक्ष खेमराज खड्काले जानकारी दिए ।

२०७२ सालमा स्थापना भएको संस्थाले गुल्मी, ताप्लेजुङ र संखुवासभामा गरी ७६ वटा विद्यालय भवनहरु निर्माण गरिसकेको खड्काले बताए । गुणस्तरीय शिक्षा प्रवर्धनमा युडब्लूएस र स्थानीय तहको भूमिकाबारे समिक्षात्मक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।

ग्रामीण क्षेत्रका सिमान्तकृत र पछाडी परेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन संस्थाले काम गर्दैआएको छ। विद्यालयमा विद्यार्थीले बिचैमा कक्षा छाड्ने दरलाई कम गर्न परियोजनाले काम गरेको उनको भनाइ छ ।

विद्यार्थीले बिचैमा कक्षा छाड्नुको कारण पहिचान गरी रोक्नका लागि विद्यालय अवधारण टोली गठन गरी काम गर्दैआएको र ९८ प्रतिशत सफल भएको कार्यक्रम प्रमुख अभिनाश झाले जनाएका छन् । परियोजनाले पाँच वर्षसम्म विद्यालय सञ्चालन गर्ने र त्यसपश्चात स्थानीय तहलाई हस्तान्तरण गर्ने जनाएको छ । आधारभूत तहमा शिक्षाको जग राम्रो बसाउन आफूहरुले हरदम प्रयास गरेको सिनियर एजुकेसन म्यानेजर नतासा काफ्लेले जानकारी दिनुभयो । १८ वटा बिद्यालयका एक हजार ३४१ बिद्यार्थीलाई निरन्तर शिक्षामा जोड्न आफूहरु सफल भएको काफ्लेको भनाई छ ।

शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन स्थानीय सरकारसंग थप सहकार्य र समन्वय गरी कार्यक्रमलाई अगाडी बढाउने युडब्लुएस नेपालका शिक्षा संयोजक आशिस अधिकारीले जानकारी दिएका छन् ।