भोजपुर,२४ माघ- भोजपुरको उत्तरी षडानन्द नगरपालिका ४ दिङ्ला बजारमा कोशी प्रदेशको पालिका स्तरिय भलिवल प्रतियोगिता शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको प्रदेशसभा सांसद विनोद वान्तावाले बुधबार एक कार्यक्रमकाविच उद्घाटन गरेकाहुन् ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानीय तहका ८ वटा टिमको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।
कार्यक्रममा शुभकामना राख्दै षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले षडानन्दले खेल क्षेत्रमा पहिचान बनाउन सफल भएको बताउईन । उनले खेलकुदले सुशासनमा पनि अहम् भूमिका खेल्ने धारणा राखिन् ।
नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले खेल क्षेत्रको विकासको लागि राज्यले ध्यान दिनु पर्ने बताए । स्वास्थको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने सरकारको नारा अपुरो भएको विचार व्यक्त गरे । प्रदेश सरकार र संघीय सरकार तर्फ लक्षित गर्दै सरकारको नारामा जिविकोपार्जनकोलागि खेलकुद भन्ने नारा समेत थप्नुपर्ने वताए । अवको समयमा खेलकुद व्यावसायिक वन्नु पर्ने उनको धारणा थियो । नगर प्रमुख उदासले ऐतिहाँसिक स्थलको ऐतिहाँििसक भलिवल मैदानमा विभिन्न जिल्लावाट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सत्कारमा कुनै कमिहुन नदिन आयोजक तथा व्यवसायीहरु समक्ष आग्रह समेत गरे ।
कोशी प्रदेश सभा सांसद विनोद वान्तावाले खेल क्षेत्रको विकासमा राज्य गम्भिर बन्नुपर्ने बताए । खेल क्षेत्रमा आफ्नो पहिचान बनाएका खेलाडीहरु पनि आर्थिक अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताए । अनुशासनहिनताले समाजको सन्तुलन विग्रदै गएको बताउर्दै सांसद राईले समुन्नत समाज विकासको लागि अनुशासनसँगै स्वास्थ्य राख्न खेलले टेवा पुग्ने धाराणा राखे ।
प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. एक लाख ५० हजारको साथ ट्रफि मेडल र प्रमाण पत्र , द्वितिय र तृतीय स्थान हासिल गर्ने टिमले प्रमाण पत्रको साथमा नगद रु. एक लाख र र ५० हजार पाउने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।