भोजपुर,२५ माघ- भोजपुरको षडानन्द नगरपालिका ४ दिङ्ला बजारमा जारी कोशी प्रदेशको पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिताको दोस्रो दिन भोजपुरका षडानन्द नगरपालिका, टेम्केमैयुङ् गाउँपालिका, साल्पा सिलिंछो गाउँपालिका र झापाको दमक नगरपालिकाले विजयी सुरुवात गरेकाछन् । लिक कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको लिगमा षडानन्दले भोजपुरकै आमचोक गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै एक महिना अघि आमचोकमा आयोजित अन्तरपालिका भलिबलको फाईनलमा भोगेको हारको वदला लिएको छ ।
षडानन्द नगरपालिकाले आम्चोक गाउँपालिकालाई २५-१९, २५-१६ र २५-१९ ले सोझो सेटमा पराजित गरेको हो । अर्को खेलमा साल्पासिलिछो गाउँपालिकाले बेलबारी नगरपालिकालाई १५ -२५, २५-१४, २५-१६ र २५-१९ ले पराजित गर्यो । त्यस्तै टेम्केमैयुङ गाउँपालिकाले भोजपुर नगरपालिकालाई २५-१६ , २५-२० र २५-१५ को सेटमा खेल आफ्नो हातमा पार्न सफल भयो । दमक नगरपालिकाले रामप्रसादराई गाउँपालिकालाई सोझो सेटमा २५-२१, २५-२३ र २७-२५ ले लगातार तिन सेट जित्दै विजयी सुरुवात गरेको छ ।
‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानीय तहका ८ वटा टिमको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ ।
माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.एक लाख ५० हजारको साथ ट्रफि मेडल र प्रमाण पत्र , द्वितिय र तृतीय स्थान हासिल गर्ने टिमले प्रमाण पत्रको साथमा क्रमशः नगद रु. एक लाख र रु ५० हजार पाउने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।