
धनकुटामा सम्पन्न चौथो प्रकाश थापा स्मृतिकप प्रदेश स्तरीय भलिवल प्रतियोगिताको उपाधि भोजपुरले जित्न सफल भएको छ । धनकुटाको सहिदभुमि गाउँपालिकामा शनिवार सम्पन्न फाईनल खेलमा चीर प्रतिद्वन्दी झापाको दमक नगरपालिकालाई सोझो सेटमा २५–२२, २५–१५ र २५–२३ ले हराउँदै षडानन्द नगरपालिकाले जित्न सफल भएको हो ।
विजेता षडानन्द नगरपालिकाले उपाधीसँगै नगद एक लाख २१ हजार एक सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता दमक नगरपालिकाले ६५ हजार पाएको छ । कोशी प्रदेशका ९ पालिकाको सहभागिता रहेको प्रतियोगितामा व्यक्तिगत विधा तर्फको पुरस्कारमा समेत षडानन्द नगरपालिकाको नै वर्चस्व रहयो । सर्वोत्कृष्ट खेलाडी षडानन्द नगरपालिकाका बालकुमार रायमाझी भए भने उनले नगद १० हजार रुपैयाँ हात पारे । यस्तै उत्कृष्ट स्पाइकर षडानन्दकै कृष्ण रसाइली, उत्कृष्ट उत्कृष्ट सटर भोजपुरको षडानन्दका जयराम खत्री र उत्कृष्ट कोच षडानन्दकै कुमार कटवाल चुनिए भने उत्कृष्ट सरभरको पुरस्कार भने सभापोखरी गाउँपालिका संखुवासभाका प्रदीप कट्टेलले प्राप्त गरे ।
आजको उपाधि सँगै षडानन्द नगरपालिकाले भोजपुरको सदरमुकाममा एक महिना आयोजना भएको भोजपुर मेयर कपमा भोगेको पराजयको वदला लिएको छ । एक साता अघि यी २ टोली भोजपरकै षडानन्द नगरपालिकामा आयोजित कोशी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा समेत आमने सामने भएका थिए । सो प्रतियोगितामा भने फाईनल खेलमा पहिलो सेटमा दमकले २५- २० ले षडानन्दलाई हराएको थियो । दोस्रो र तेस्रो सेटमा षडानन्दले दमकलाई २६-२४ र ३०-२८ ले हराउदै कम्व्याक गरेको थियो । निर्णायक तथा पाँचौ सेटमा ९-४ ले पछि परेको अवस्थामा कम्व्याक गर्दै दमकले १७-१७ वनाएको थियो । वरावरी भएको अवस्थामा रेफ्रीले दमकका खेलाडीको नेट टच भएको संकेत गर्दै षडानन्दलाई अंक दिएपछि १८-१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए । विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टीमलाई संयुक्त रुपमा विजयी घोषित गरिएको थियो ।
२०५७ सालमा तत्कालीन माओवादीसँगको कालिकोटमा भएको भिडन्तमा मृत्यु भएका प्रहरी नायब निरीक्षक प्रकाश थापाको सम्झनामा २०७६ सालबाट ट्रष्ट स्थापना गरी प्रतियोगिता हुँदै आएको छ ।