
दिंला,८ फागुन- भोजपुरको उत्तरी षडानन्द नगरपालिका-४ दिङ्लामा १४ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनोट प्रतियोगिता आजबाट शुरु भएको छ । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने मुल नाराका साथ षडानन्द नगरपालिकाको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन षडानन्द नगरपालिकाको प्रमुख सुरेन्द्र कुमार उदासले गरेकाहुन् ।
प्रतियोगितामा भोजपुर जिल्लाका हतुवागढि वाहेकका ८ पालिकाकाहरुको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समिति भोजपुरले जनाएको छ। आज उद्घाटनका दिन एथ्लेटिक्स तर्फ छात्र, छात्रा दुवैको र भलिबल तर्फ छात्रका केहि खेलहरु सम्पन्न भएकाछन् । छात्रा तर्फको आज भएको ९ वटा ईभेण्टका खेलहरुको छिनोफानो भएको छ । आज सम्पन्न खेलहरुमा टेम्केैयुंग गाँउपालिकाले ३ स्वार्ण, एक रजत र एक कास्य पदक जित्न सफल भएको छ । त्यस्तै भोजपुर नगरपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दा षडानन्द नगरपालिका र साल्पासिलिंछो गाउँपालिकाले २ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएका छन् । पौवादुम्मा गाउँपालिकाले १ रजत र एक कास्य, राम प्रसाद राई गाउँपालिकाले १ रजत पदक प्राप्त गरेको छ ।
आजभएको भलिवल तर्फको षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाबीच भएको पहिलो खेलमा षडानन्द नगरपालिकाले २५-१७ र २५-१८ ले सोझो सेटमा पराजित गरेको छ । दोस्रो खेलमा साल्पासिलिछो गाउँपालिकाले २३-२५ अङ्कले एक सेट हातपारेको थियो भने दोस्रो र तेस्रो सेट खेल साल्पासिलिछो गाउँपालिकाले २५-१७ र १५-१३ अङ्कले विजयी हुँदै सेमिफाईनल प्रवेश गरेको छ ।
प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।