योगमाया स्मृती कप भलीबल फागुन २२ बाट

दिंला(भोजपुरको प्रतिष्ठित योगमाया स्मृति तीनवर्षे अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन २२ गते देखि २५ गते सम्म आयोजना हुने भएको छ । योगमाया खेलकुद विकास समितिको आयोजनामा  प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

षडानन्द नगरपालिका–१, नेपालेडाँडाको मझुवाबेंसीस्थित योगमाया खेलकुद विकास समितिको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक क्लबका अध्यक्ष भुपाल कठेतले जानकारी दिए । प्रतियोगिताअन्तर्गत पहिलो हुने टिमले नगद ७१ हजार १ सय ७१, एक सय सात तोला चाँदीको तीनवर्षे रनिङ सिल्डका साथ मेडल प्रमाणपत्र पाउने छ । दोस्रोलाई नगद ५१ हजार १ सय ५१ का साथमा सिल्ड, मेडल, प्रमाणपत्र र तेस्रोलाई नगद ३१ हजार एक सय ३३ का साथ सिल्ड, मेडल र प्रमाणपत्र दिइने छ । सान्त्वनाले २१ हजार १ सय २३ पाउने छन् ।

प्रतियोगितामा भोजपुर र सङ्खुवासभाको गरी करिब २० टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । योगमाया न्यौपानेको स्मृतिमा २०५४ सालबाट निरन्तर भलिबल प्रतियोगिता सञ्चालन भईरहेको योगमाया खेलकुद विकास समितिका सचिव डिल्लीराम राईले  जानकारी दिए ।