खाँदवारी – नेपाल एपिएफ क्लबले मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । संखुवासभाको खादबारीमा सम्पन्न शनिबार गण्डकी प्रदेशलाई ३–१ को सेटले हराउँदै एपिएफले पहिलो स्थान हासिल गरेको हो । पहिलो सेट १४–२५ ले गुमाएको एपिएफले बाँकी सेटमा २५–२३,२५–२१,२५–२१ को सोझो जित निकालेको हो ।
एपिएफले त्रिभुवन आर्मी क्लब र गण्डकीले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल भेट पक्का गरेका थिए । त्यसअघि एकै समूहमा रहँदा पनि एपिएफले गण्डकीलाई ३-० को सोझो सेटमा हराएको थियो ।
पुलिस तेस्रो
प्रतियोगितामा पुलिस तेस्रो भएको छ । शनिबार नै आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस तेस्रो बन्न सफल भएको हो ।
एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन । एकै समूहमा रहेका यि दुई टोलीबीचको प्रतिस्पर्धामा पनि पुलिसले आर्मीलाई हराएको थियो ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाए । पाँच दिन सम्म सन्चालन भएको प्रतियोगितामा ८ टोलीको सहभागिा थियो ।