मलेसियामा ईतिहाँस रचेर फर्किन् भोजपुरकी सजिना

भोजपुर- मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भोजपुरकी सजिना तामाङले स्वर्ण र रजत पदक जित्दै ईतिहाँस रच्न सफल भएकी छन्।

फागुन १७ देखि २० गतेसम्म भएको ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’बाट दुईवटा अन्तर्राष्ट्रिय पदक लिएर उनी स्वदेश फर्किएकी छन्। भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीया सजिना स्वर्ण र रजत लिएर फर्किएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए।

कार्कीका अनुसार सजिनाले एकल स्पाइरिङतर्फ ४३–५३ तौल समूहबाट स्वर्ण र एकल प्याटन निलो पेटी समूहबाट रजत जितेकी हुन्। सजिनाले पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्। विगतमा पनि उनले विभिन्न पदकहरू जितेकी थिइन्।

भोजपुरको दुर्गम गाउँमा जन्मिएकी महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट स्वर्ण र रजत जित्नु मुलुकका लागि ठूलो उपलब्धि भएको अध्यक्ष कार्कीले बताए। सजिनाको पारिवारिक आर्थिक अवस्था सामान्य छ। बाबु वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामै छन्। ‘दुर्गम गाउँकी चेलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्नु ठूलो उपलब्धि हो। महिला खेलाडीले विश्वसामु नेपालको नाम राख्न सक्नु चानचुने कुरा हैन,’ कार्की भन्छन्, ‘यो राष्ट्रका लागि ठूलो सफलता र गौरवको विषय हो। खेल क्षेत्र र खेलाडीको विकासमा राज्यले ध्यान दिनुपर्छ।’

उनले विश्वसामु नेपाललाई चिनाउन सफल भएकी सजिनालाई संघीय र प्रदेश सरकारले सम्मान गर्नुपर्ने पनि बताए। सरकारले सम्मान र सहयोग गरे मात्रै खेलाडीको हौसला बढ्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय पदक बोकेर फर्किएकी सजिनालाई बुधबार विराटनगर विमानस्थलमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले सम्मान गरेको छ। प्रदेश संघका तर्फबाट कोषाध्यक्ष ओमकुमार श्रेष्ठलगायतले उनलाई विमानस्थलमा सम्मान गरेका हुन्।

नेपालको प्रतिनिधित्व गर्दै ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’मा भाग लिन सजिनासहित ४ जना खेलाडी र १ जना अम्पायर गरेर ५ जनाको टोली गत फागुन १६ गते मलेसिया प्रस्थान गरेको थियो। ४ खेलाडीमध्ये वीरेन्द्र कुँवर दुईवटा विधामा २ कास्य पदक जित्न सफल हुँदा देवेन्द्र सुनार र कैलाश अर्याल पदकविहीन बनेर फर्किए।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाअध्यक्ष विक्रम बाठा मगर नेपालको तर्फबाट अम्पायरको भूमिका निर्वाह गर्दै खेलाडीको टोलीसँग मलेसिया गएका थिए। उक्त प्रतियोगितामा विश्वभरिका ३१ मुलुकका २ हजार ४ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले जनाएको छ।

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले यसअघि सजिनालाई नगरपालिकावाट बिदाइ गर्ने क्रममा सजिनालाई मलेसिया जाने आउने हवाई टिकटको लागि लाग्ने खर्च नगरपालिकाले सहयोग गर्ने वताएकाछन् । मलेसियामा प्रतियोगिता खेल्न जानको लागि प्रदेश तथा केन्द्रीय सरकारले कुनैपनि व्यवस्था नगरेको भन्दै भोजपुर जिल्ला आईटीएफ संघका अध्यक्ष सुरेस राई तथा सचिव मोहन तामांगले सहयोगको लागि प्रस्ताव गरेपछि नगर प्रमुख उदासले विदाई कार्यक्रममै मलेसिया आते जाते वापतको ५५ हजार वरावरको हवाईटिकट नगरले सहयोग गर्ने वचन दिएका थिए ।