
काठमाडौं- घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो ।
जितपछि नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुई जित र एक बराबरीसहित ७ अंक जोडेको पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।
नेपालले अब सेमिफाइनलमा समूह्य ए को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा भारतले बंगलादेश र माल्दिभ्स दुवैलाई पराजित गरेको थियो । खेलमा अग्रता भने भुटानले लिएको थियो । तर भुटानले अग्रता कायम राख्न सकेन भने दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो ।