राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘खोरमा थुनिँदैमा बाघ स्याल नहुने’ टिप्पणी गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा समर्थकतिर फर्किएर बार्दलीबाट हात उठाउँदै छोटो बोले ।
लामिछानेलाई आजै पोखराबाट बयानको लागि त्यहाँ लगिएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा राखिएको छ ।
लामिछानेलाई भैरहवा लगेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
रास्वपाका कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताको भैरहवाको बुद्धचोक, लुम्बिनी गेटलगायतको ठाउँमा रविको पक्ष र विपक्षबीचको प्रदर्शन समेत गरेका थिए ।
रास्वपाले सरकारले प्रतिशोध राखेर सभापति लामिछानेलाई हिरासतमा राखेको भन्दै देशभर आन्दोलन गरिरहेको छ ।