
भोजपुरको उत्तरी साल्पा सिलिछों गाउँपालिका ३ गोपिनीचौरमा पुनःनिर्माण गरिएको डिगम्वरेश्वर महादेव मन्दिरको उद्घाट्न गरिएको छ । सोहि स्थानमा जन्मि देश विदेशमा रहेका नागरिकहरुको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको मन्दिरको कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले विहिवार एक औपचारिक कार्यक्रमकाविच उद्घाटन गरेकाहुन्।
२०१८ सालमा स्थानिय समाजसेवी डिगवीर र धनमाँया अधिकारीले भारतको पवित्र तिर्थस्थल वनारसबाट ल्याईएको शिवलिङ्ग २०२९ साल जेष्ठ महिनामा वहाँका सन्तानले स्थापना गरेका थिए । माटो ढुंगाले वनेको उक्त मन्दिर र्जीण भएकाले ५१ वर्षपछि पुनः निर्माण गरिएको पुनःर्निर्माण समितिका संयोजक केशव अधिकारीले जानकारी दिए ।
मन्दीर उद्घाटन कार्यक्रममा पुर्वमन्त्री, विभिन्न दलका केन्द्रीय देखि स्थानिय तह सम्मका नेता, भोजपुरका विभिन्न पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजिवि लगायत अमेरिका, वेलायत, काठमाण्डौ र देशका विभिन्न भागबाट भक्तजनहरुको उपस्थिति रहेको थियो ।
मन्दिर उद्घाटन समारोहमा सम्वोधन गर्दै मन्दिर पुनः निर्माण समितिका संयोजक केशव अधिकारीले शुरुवातमा सामान्य डिजाईनको मन्दिर निर्माण गर्ने भनेर सुरुवात गरिएको भएतापनि सामाजिक संजालको सहयोगमा देश विदेशमा रहेका सहयोगदाताहरुको उल्लेख्य सहयोग आएपछि प्यागोडा शैलिको आकार्षक मन्दिर पुनःनिर्माण गर्न सम्भव भएको वताए । पुनर्निर्माण समितिले सामाजिक सञ्जालको भरपूर उपयोग गर्दै दातालाई आह्वान गरि, आफ्नो स्वइच्छाले दान गर्न सकिने सुविधा प्रदान गरेको हालसम्म ३७५ जना दाताहरुले स्वेच्छाले हाल सम्म करिव ६२ लाख रकमको प्रतिवद्धता प्राप्त भएको र अधिकाँश रकम समितिलाई उपलव्ध भैसकेको जनाएको छ ।अधिकारीले मन्दिर निर्माण सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद समेत प्रकट गरे ।
कार्यक्रममा उपस्थित अतिथिहरुले दुर्गम गाउँमा आकर्षक मन्दिर निर्माण भएकोमा खुशी व्यक्त गरे । उनिहरुले अहिले सानो तिनो विकास निर्माण काममा सरकारको मुख ताक्ने प्रवृत्ति वढिरहेको यथार्थ प्रस्तुत गर्दै देश विदेशमा रहेका स्थानियवाट स्वतः स्फुर्त आर्थिक शंकलन गरि मन्दिर निर्माण गरिएको कामको मुक्त कण्ठले प्रशंसा गरे । उनिहरुले मन्दिरको विकासको लागि आवश्यक परेको खण्डमा सहयोगको लागि सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा सम्वोधन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा प्रमुख अतिथि पाँचकर्ण राईले पछिल्लो समय तीन तहकै सरकारले पुल, सडक लगायतका पुर्वाधारमा लगानी धेरै गरेको तर पुल, सडक लगायतका पुर्वाधारको सदुपयोग नभएको गुनासो गरे । उनले पुल, सडक लगायतका पुर्वाधार शहर तर्फ बसाई सराई गर्नको लागि मात्र प्रयोग भईरहेको दुखेसो पोखे । उनले भोजपुरको उत्तरी क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको वताउँदै यस क्षेत्रमा पर्यटकीय पुर्वाधार विकास र पर्यटकीय क्रिकाकलाप अभिवृद्धि गरिनुपर्नेमा जोड दिए । सामाजिक विकास मन्त्री राईले यस क्षेत्रका पर्यटन विकासको लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
मन्दिरमा फाल्गुन १० गते देखि अखण्ड शिवपुराण, रुद्री पुजन लगायत विभिन्न धार्मिक अनुष्ठान, महाशिवरात्रीको अवसरमा प्राणप्रतिष्ठा र मन्दिरको समुदघाटन गरिएको हो । मन्दिर उद्घाटन कार्यक्रममा पुनःनिर्मित मन्दिरका दाताहरुलाई प्रसंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा मन्त्री राईको उपस्थितिमा मन्दिर परिसरमा वृक्षरोपण समेत गरिएको छ । मन्दिर संरक्षण तथा विकास समितिले यो कार्य कोशी प्रदेश कै लागि एक ऐतिहासिक र आलौकिक कार्यक्रम भएको दावी गरेको छ ।
पुनःर्निमार्ण समितिले प्यागोडा शैलिको नापनक्सा, कलात्मक झ्यालढोका, भक्तपुरे इट्टा, काठमाडौंका दक्ष कालिगढको प्रयोग, तामाको छानो लगायत प्रयोग गरि मन्दिर निर्माण गरिएको जनाएको छ । मन्दिरमा शिवपञ्चायनका मूर्तिहरु, वसाह, हुनमानको मूर्ति, राधाकृष्णको मूर्ति, किरातेश्वर महादेवको स्थापना र नवदुर्गा भवानीको समेत सो मन्दिर प्रांगणमा स्थापना गरिएको छ। मन्दिरमा तुलसीको मोठ, वत्ति प्रज्वलन स्थलको निर्माण र मन्दिरको प्राङ्गणमा ढुगा विछ्याउनुको साथै पर्खाल लगाउने जस्ता कार्यहरु समेत गरिएको छ ।
मन्दिर संरक्षण तथा विकास समितिले पुनर्निर्माण नियम २०८० जारी गरी केशव अधिकारीको संयोजकत्वमा पुनर्र्निर्माण समिति गठन भएको सो समितिको सदस्यमा कोमलवहादुर अधिकारी, महेन्द्र अधिकारी, कर्णवहादुर अधिकारी, सुदीप वहादुर अधिकारी रहेको सो समितिको सदस्यसचिवमा राम अधिकारी रहेका छन् ।