भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति

युद्धको औपचारिक थालनी नै भयो भने अन्ततः भारत र पाकिस्तान दुवै मुलुकले युद्ध धान्न सक्दैनन् । बदला तथा प्रतिबदलाको शृङ्खलाले अहिलेका लागि भावनात्मक रूपमा केही प्राप्त भए जस्तो लागेता पनि त्यसले अन्ततः दुवै पक्षलाई नै क्षति पुर्‍याउँछ । यस्तो अवस्थामा रक्तपातको बदला अर्को ठुलो रक्तपातको के अर्थ हुन्छ?

भारत र पाकिस्तान दुवै तर्फका सम्भ्रान्तहरू आफ्नो वर्चस्व स्थापित गर्न वा कायम राख्न यस्ता द्वन्द्व प्रयोग गर्ने गर्छन् । उनीहरू यस्ता समस्या समाधान हुनुको सट्टा गरिबहरू मारिदा पनि केही फरक पर्दैन भन्ने ठान्छन् । सिन्धु नदीको पानी बाँडफाँटलाई लिएर भएको जल सन्धि असाध्यै ठुलो महत्वको सन्धि हो ।

सन् १९६० पछि भएका हरेक विवाद र युद्धको अवस्थामा पनि यो जोगिँदै आएको थियो । तर, अहिले यसलाई खारेज गरिएको छ । यसले शान्तिको बाटोमा लैजाँदैन । पानीलाई युद्धको हतियार बनाउने कामले तनाव घटाउनुको सट्टा अझै बढाउँदै लैजान्छ । यसले अझै खतरनाक नजिरको रूपमा काम गर्छ ।

भारतले आफूले प्रतिबद्धता जाहेर गरेका अन्तर्राष्ट्रिय जिम्मेवारीबाट पन्छिन मिल्दैन । आक्रोश हाबी भएको अहिलेको अवस्थामा यसले शत्रुता बढाउने तथा द्वन्द्व लम्ब्याउने काम मात्रै गर्छ । भारत र पाकिस्तान आपसमा मिलेर बस्नुको विकल्प छैन । हामी त छिमेकी हौँ । हाम्रा असाध्यै धेरै साझा सांस्कृतिक निरन्तरता छन् ।

हामीले मिलेर एकसाथ बेलायती उपनिवेश विरुद्ध संघर्ष गरेका हौँ । हाम्रा त्यस्ता साझा ऐतिहासिक विरासतले हामीलाई एकैठाउँमा ल्याउन सक्छन् । हामी आपसमा झनै टाढिँदै जानुको सट्टा मिलेर हाम्रा साझा समस्या समाधान गर्न सक्छौँ । अहिले चलिरहेका जस्ता हमलाले हाम्रा सेनाका विभिन्न इकाई ध्वस्त पार्न मात्रै सक्छन् । तर, अहिलेको अवस्था सिर्जना गर्ने समस्याको जरोमा पुगेर समाधान गर्न भने सक्दैनन् ।

पहलगाममा भएको आक्रमण असाध्यै अमानवीय र नृशंस थियो भन्नेका कुनै शंका रहेन । यो घटनाले संसारभरका मान्छेको मन दुःखेको छ । घटनास्थलमा संलग्न हमलावरले मानिसलाई धर्म सोधी–सोधी मारेका छन् । यो वा त्यो बहानामा यस्ता आततायी घटनाको कदापि महिमामन्डन गर्नु हुँदैन ।

यस्तो अवस्थामा सरकार कसरी अघि बढ्ने भन्ने प्रश्न आउन सक्छ । जब यस्ता घटना घट्छन् सरकारले सबै भन्दा पहिले सत्य तथ्य पत्ता लगाउनु पर्छ । कसले योजना बनायो तथा लागू गरायो भन्ने बुझ्नुपर्छ । त्यस्ता अनुसन्धानले भविष्यमा यस्ता दुर्घटना हुनबाट जोगाउन सक्छ ।

सरकार र यसका निकायहरूको असफलताबारे पनि अनुसन्धान आवश्यक छ । अझ खास गरि काश्मीरीहरूलाई राजनीतिक धक्काको रूपमा संविधानको धार ३७० हटाए पछिको अवस्थामा त्यस्तो अनुसन्धान झनै धेरै आवश्यक छ । पाकिस्तानका रक्षा मन्त्रीले केही समय अघि मात्रै केही गम्भीर कुरा गरेका थिए ।

सन् १९७८ पछि साउदी अरबको युद्ध तथा अफगानिस्तानको युद्धको समयमा अमेरिकालाई सघाउनका लागि पाकिस्तानले अपराधीहरुलाई आश्रय दिएको कुरा उनले स्वीकार गरेका थिए । साथै उनले पाकिस्तान अबका दिनमा यस्तो गतिविधिमा संलग्न हुन नचाहेको समेत बताएका थिए ।

यसलाई भारतले कूटनीतिक मौकाका रूपमा लिन सक्थ्यो । यसबाट द्विपक्षीय संवादको सुरुवात गर्न सकिन्थ्यो । तनाव मत्थर बनाउन सकिन्थ्यो । काश्मीर तथा बलोचिस्तानलाई एक–अर्काको विरुद्ध प्रयोग गर्ने ठाउँ बन्नबाट रोक्न सकिन्थ्यो । यसले आपसमा विश्वासको वातावरण सिर्जना गर्थ्यो ।

भारत र पाकिस्तान यसरी जुधेर हुँदैन । उनीहरूले मानवतालाई आपसी अविश्वास तथा अस्थिरताको जन्जालबाट बाहिर निकाल्नै पर्छ । हामीलाई साझा भविष्यको खाँचो छ । यस्तो भविष्य भारत र पाकिस्तान अनिवार्य रूपमा मिलेर निर्माण गर्नुपर्छ ।