
दिंला- षडानन्द नगरपालिका अन्तर पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिंला बजारमा रहेको भलिबल ग्राउण्डमा एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख सुरेन्द्र कुमार उदासले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन स्वरुप कार्यक्रमका अतिथि र नगरका कर्मचारि विच मैत्रिपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा अतिथि टीमले कर्मचारी टीमलाई २-१ को सेटमा पराजित गर्यो । प्रतियोगितात्मक खेल भने भोलिवाट शुरुहुने प्रतियोगिताका संयोजक सिताराम गुरुङ्ले जानकारी दिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले प्रतियोगिता आयोजना भएकोमा प्रसंसा गर्दै प्रतियोगिताको सफलताको कामना गरे । केहि पार्टी प्रतिनिधिले जनप्रतिनिधिको उपस्थिति न्यून भएको भन्दै ध्यानाकर्षण समेत गरे । नेकपा माओवादी केन्द्रका प्रतिनिधि तथा प्रदेश कमिटि सचिवालय सदस्य दिलकुमार राईले जनप्रतिनिधि जतिसुकै व्यस्त भएता पनि नगरले आयोजना गरेको कार्यक्रममा उपस्थित नहुनु दुःखद रहेको वताए ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख उदासले नगरपालिकाले खेलकुद क्षेत्रमा उल्लेख्य लगानी गरेको दावि गरे । उनले वडा वडामा खेलकुद प्रतियोगिता सञ्चालन गर्नुका साथै विभिन्न क्षेत्रमा खेलाडी सहभागिताको लागि समेत नगरले बजेट व्यवस्थापन गरेको वताए । उनले फरक प्रसंगमा षडानन्द गुरुले गरेका सामाजिक सुधारका कामको खुलेर प्रसंसा गरे । भोजपुरवाट मुख्य मन्त्री, मन्त्री लगायत विधिन्न तहका जनप्रतिनिधि चुनिएता पनि षडानन्द गुरुले गरेजति काम गर्न नसकेको स्विकार गरे । नगर प्रमुख उदासले स्थानियवासी तथा जनप्रतिनिधिहरुलाई संकीर्ण विचार नराख्न समेत आग्रह गरे । संकीर्ण विचार र व्यवहारले विकास सम्भव नभएको उनको निश्कर्ष थियो ।
प्रतियोगितामा कोशि प्रदेशका ६ वटा पालिकाका टीमको सहभागिता रहेको छ । आयोजक षडानन्द नगरपालिकाका साथै साल्पासिलिंछो, अरुण, आमचोक, सभापोखरी र पाँचखपन नगरपालिकाले सहभागिता जनाएकाछन् । प्रतियोगितामा प्रथम हुने टीमले नगद रु १ लाख ७५ हजार नगर ट्रफी र मेडल, दित्तीय हुनेले नगद १ लाख ट्रफी र मेडल र सेमिफाईनलिष्ट बाकी २ टीमले नगद ३०-३० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता जेष्ठ २० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा एक टीममा आफ्नो पालिकाका वाहिरका ३ जना खेलाडीले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका राष्ट्रिय टीममा सहभागि भएर खेल कौशल पस्कि सकेका खेलाडीले पनि सहभागिता जनाउने सहभागि टीमहरुले वताएकाछन् ।